ताप्लेजुङमा दुईचरणमा पोलियो बिरुद्धको आई.पि.भी खोप अभियान सञ्चालन हुने,करिव ७ हजारलाई खोप दिने लक्ष्य

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १२ । आई.पि.भी खोप अभियान ताप्लेजुङमा झण्डै ७ हजार बालबालिकालाई पोलियो बिरुद्धको खोप दिनेगरी लक्ष्य निर्धारण भएको छ ।

जिल्ला खोप समन्वय समितिले शनिवार फुङलिङमा आयोजना गरेको कार्यक्रममार्फत ६ हजार ७५० जनालाई खोप दिने लक्ष्य रहेको बताएको हो । जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कूलबहादुर पौडेलका अनुसार ताप्लेजुङका ९ मध्ये ४ स्थानीय तहमा जेठ १३ गते देखि १८ गते सम्म पहिलो चरणमा यस्तो खोप दिईने भएको छ । पौडलका अनुसार पहिलो चरणमा फुङलिङ नगरपालिका,पाथीभरा याङवरक गाउँपालिका,सिदिङ्वा गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ । जेठ २० गते देखि २५ गते सम्म ५ स्थानीय तहमा खोप अभियान सञ्चालन हुने छ । दोस्रो चरणको खोप अभियान मिक्वाखोला गाउँपालिका,मैवाखोला गाउँपालिका,सिरिजङ्गा गाउँपालिका,मेरिङदेन गाउँपालिका र फक्ताङलुङ गाउँपालिकामा सञ्चालन हुनेगरी कार्यतालिका तयार भएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

खोप अभियानका लागि जिल्ला भरमा कूल ३ सय ९८ वटा केन्द्र निर्धारण भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्डचेन सुपरभाइजर दिनेश रायले जानकारी दिनुभयो । उहाँका अनुसार कूल खोप केन्द्रमध्ये ३ सय ४८ जना बिद्यालयलाई खोप केन्द्र निर्धाण गरिएको छ भने बाँकी बिद्यालय बाहेकका खोप केन्द्र रहने छन् । अभियानमा १ सय २१ जना तालिमप्राप्त खोप स्वास्थ्यकर्मी र सहयोगीको रुपमा ७ सय ९६ जना स्वयंसेवक परिचालित हुने भएका छन् । खोप अभियानमा शिक्षक समेत परिचालित हुने भएका छन् । शिक्षक र स्वास्थ्यकर्मी सहित कूल ४ सय ४८ जना परिचालित हुँदा कामको सुपरीवेक्षणका लागि ७३ जना खटिने भएका छन् ।

राष्ट्रिय खोप कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकताप्राप्त कार्यक्रम हो । खोप कार्यक्रमले शिशु तथा बाल मृत्युदर घटाउन योगदान दिने गर्छ । पोलियो बिरुद्धको ओ.पि.भी खोप एकबर्ष मुनिका बालबालिकालाई नियमित खोप सेवाको माध्यमबाट नियमित रुपमा दिईदैं आएको छ । यो रोग बिरुद्धको आई.पि.भी खोप २०७१ सालबाट प्रदान गर्न थालिएको हो । तर,२०७३ सालको प्रारम्भ देखि विश्व बजारमा यो खोपको अभाव भएर आपूर्ति नभएका कारण दुईबर्ष भन्दा बढी अवधि यो खोप लगाउनबाट छुटेका बालबालिकालाई लक्षित गरी ओई.पि.भी खोप दिने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको हो । नेपालमा सन् २०१० देखि पोलियो रोग भने देखा परेको छैन ।

Similar Posts