नेपाल-तिब्बत सिमाना टिपताला नाका पाँच वर्षपछि खुल्यो
-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १२ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपताला नाका पाँच वर्षपछि खुलेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीसँगै बन्द भएको टिपताला नाका शुक्रबारदेखि खुलेको हो ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा पर्ने नेपाल तिब्बतको सिमाना टिपताला कोरोना महामारीपछि चीनले एकपक्षीय रुपमा बन्द गरेको थियो । नेपाल सरकारसहितका निकायबाट निरन्तर हुँदै आएको पहल र प्रयत्नपछि बल्ल नाका खुला भएको हो । टिपताला खुला भएसँगै शुक्रबार ३३ जना नेपाली तिब्बतको रिउ पुगेका फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो ।
अध्यक्ष लिम्बूका अनुसार ओलाङ्चुङगोला, याङ्मा लगायतका स्थानीय तिब्बत गएका हुन् । ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन लामा शेर्पाले व्यापारिक अभिप्रायले स्थानीयहरु तिब्बत गएका बताउनुभयो । वडाध्यक्ष शेर्पाकाअनुसार सात दिनको समय लिएर स्थानीयहरु तिब्बतको रिउ गएका हुन् ।
रिउका स्थानीय सत्ता तथा व्यापारीले व्यापारिक स्टलहरु राखेको र त्यही स्टलको परिधिमा रहेर यहाँबाट गएका नेपालीले व्यापार समन्वय तथा प्रवर्द्धन गर्न पाउने आफूले बुझेको शेर्पाले बताउनुभयो । शुक्रबारदेखि खुलेको नाका अब निरन्तर खुला रहने/नरहनेमा कुनै जानकारी नभएको पनि उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट प्रवेश अनुमति लिएर ओलाङ्चुङगोलाका स्थानीय तिब्बत गएका हुन् ।
यसअघि मे ७ अर्थात बैशाख २५ गतेदेखि नै नाका खुल्ने खबरपछि यहाँका स्थानीयले तिब्बत जाने तयारी सुरु गरेका थिए । मे ७ कै दिन ओलाङ्चुङगोलाका स्थानीय तिब्बत जानका लागि टिपताला नजिक मौवाटारसम्म पुगेका थिए । तर, उक्त दिन नाका खुला नहुने तिब्बतका तर्फबाट जानकारी भएपछि उता हिँडेका स्थानीयहरुले बिच बाटोदेखि नै फर्कनुपरेको ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । वालुङका अनुसार नाका बन्द भएका कारण लामो समयदेखि आफन्त भेटघाट गर्न र अन्य काममा जान नपाएका स्थानीयहरु तिब्बत जानलाई आतुर रहँदै आएका छन् ।
अहिलेसम्म नाका खुला नहुँदा ओलाङ्चुङगोला, याङ्मा, पापुङ, घुन्सा लगायतका बासिन्दाले तिब्बतमा रहेका आफन्तसँग भेटघाट गर्न पाएका छैनन् । त्यस्तै यहाँका स्थानीयले तिब्बतका व्यापारीसँग गर्दै आएको व्यापार कारोबार पनि ठप्प भएको छ । यहाँका व्यापारीले याकचौंरी, गलैँचा, जडीबुटीजस्ता वस्तुहरु तिब्बतका व्यापारीसँग व्यापार र कारोबार गर्ने गरेका छन् ।
शुक्रबारदेखि भने टिपताला नाका खुलेकाले अब आफन्त भेटघाट गर्न, व्यापार गर्न र अन्य कामका लागि तिब्बत नेपाल आउजाउ गर्न पाइनेमा सीमावासी विश्वस्त छन् । यसअघि मे ७ देखि नै टिपताला नाका खुला हुने भनेपछि तिब्बत प्रवेशका लागि यहाँका स्थानीयले अनुमतिपत्र लिन थालेका थिए । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार हालसम्म करिव १३० जनाले तिब्बत प्रवेश अनुमतिपत्र लिई सकेका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप, वडा ७ ओलाङ्चुङगोला र मिक्वाखोला गाउँपालिका–५ पापुङकाले स्थानीयले प्रवेश अनुमतिपत्र लिएका प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
समुद्र सतहदेखि पाँच हजार १०० मिटरको उचाइमा रहेको द्विदेशीय सिमाना टिपतालासम्म भर्खरै सडकको पहुँचसमेत पुगेकाले नाका खुला भएपछि ओलाङ्चुङगोला, याङ्मासहितका सीमा बस्तीका बासिन्दा हर्षित छन् । बन्द भएको पाँच वर्षपछि नाका खुला भएकाले अब भने प्राकृतिक याम र मौसमका कारणबाहेक टिपताला नाका सधैं खुला रहनेमा आफूहरु ढुक्क रहेको ओलाङ्चुङगोलाकी स्थानीय दावाफुटी शेर्पाले बताउनुभयो । नेपाल र तिब्बतबीच वैवाहिक सम्बन्ध रहेको छ भने व्यापारिक सम्बन्ध पनि रहँदै आएको छ ।