पाथीभरा क्षेत्रको सातमुले वनमा लौठ सल्ला रोपियो
-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ११ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको वनमा लौठ सल्लाको बिरुवा रोपिएको छ । पाथीभरा क्षेत्रको काफ्लेपाटी नजिक सातमुले वनमा शुक्रबार लौठ सल्लाको बिरुवा रोपिएको हो ।
फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको मयाम पातल सामुदायिक वन उपभोक्ता समूहले उक्त वन क्षेत्रमा वृक्षारोपण गरेको अर्थात लौठ सल्लाको बिरुवा रोपेको हो । जिल्ला समन्वय समिति ताप्लेजुङका उपप्रमुखसमेत रहनुभएका उपभोक्ता समूहका अध्यक्ष कृष्णप्रसाद लिङ्खिमका अनुसार पाँचसय वटा लौठ सल्लाको बिरुवा रोपिएको छ ।
समूहको सामुदायिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत वृक्षारोपण गरिएको लिङ्खिमले जानकारी दिनुभयो । उहाँकाअनुसार समूहको अगुवाइमा यसअघि सोही सातमुले वन क्षेत्रमा धुपीको बिरुवा पनि रोपिएको छ । अहिले धुपीको बिरुवा निकै हुर्किएको उहाँले जानकारी दिनुभयो । वृक्षारोपणमा समूहका पदाधिकारी, सदस्य र अन्य गरी करिव ४० जना सहभागी हुनुभएको थियो । लौठ सल्ला बहुमूल्य जडीबुटीअन्तर्गत पर्दछ ।
यसैगरी डिभिजन वन कार्यालय ताप्लेजुङअन्तर्गत पाथीभरा सव–डिभिजन वन कार्यालय फुङ्लिङले शुक्रबार नै सोही मयाम पातल सामुदायिक वन उपभोक्ता समूहका सदस्यलाई सहभागी गराएर वन व्यवस्थापनसम्बन्धी अनुशिक्षण सम्पन्न गरेको छ । सव–डिभिजन वन कार्यालयका कर्मचारी (सहायकस्तर पाँचौ) फुपुग्याबु शेर्पाका अनुसार समूहका सदस्यलाई वन व्यवस्थापन स्थलगत अभ्याससम्बन्धी अनुशिक्षण गराइएको छ ।
बिरुवा रोप्ने तरिका, मल तथा सिँचाइ गर्ने विधि साथै संरक्षण र रोपेको बिरुवा हुर्काउने ज्ञानसम्बन्धी अभ्यास शिक्षण गराएको उहाँले बताउनुभयो । अनुशिक्षणको सहजीकरण शेर्पा आफैँले गर्नुभएको थियो ।