| |

पहिचानको मुद्दालाई सशक्त बनाउँदै मोर्चा

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १० । प्रा.डा. महेन्द्र लावती संयोजक रहेको पहिचानवादी मोर्चाले पहिचानको मुद्दालाई सशक्त बनाउने भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछि घोषणा भएको मोर्चाको मुख्य मुद्दा पहिचान भएको र मोर्चाले पहिचानको मुद्दालाई सशक्त बनाउने भएको हो ।
सदरमुकाम फुङ्लिङमा बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै मोर्चाका संयोजक प्रा.डा. लावतीले पहिचानको मुद्दालाई सशक्त बनाउने उद्देश्यसहित मोर्चा निर्माण गरिएको बताउनुभयो । जसपा नेपालका शिर्ष नेतृत्व पहिचानको मुद्दामा संलग्न नभएको पाएपछि सो मुद्दालाई स्थापित र सशक्त बनाउनलाई मोर्चा निर्माण भएको लावतीको भनाइ छ ।
उहाँले पहिचान पक्षधरसँग समन्वय तथा सहकार्यमा रहने र राजनीतिक शक्ति निर्माणको दिशामा अघि बढ्ने बताउनुभयो । नेपालमा बासोबास गर्ने सबै समुदायको पहिचान, धर्मनिरपेक्षता, विधिको शासन स्थापना र भ्रष्टाचार नियन्त्रणमा अग्रसर रहँदै मोर्चालाई बृहत बनाउने पनि उहाँले बताउनुभयो । बहु संस्कृतिवाद र सहभागितामुलक पुँजीवादको अवधारणालाई अवलम्बन गर्दै हाल कायम रहेको एकल जातीय राज्य व्यवस्थालाई अन्त्य गरी बहु जातीय राज्य निर्माणको लक्ष्यमा लाग्ने उहाँले बताउनुभयो ।
मोर्चा निर्माण भएपछि विभिन्न दल तथा समूहमा रहेका पहिचानवादी सोच र विचार बोकेकाहरुले सम्पर्क गरिरहेको दावी गर्दै प्रा.डा. लावतीले पहिचानका मुद्दामा सम्बद्ध सबैलाई मोर्चामा आवद्ध हुन पनि आह्वान गर्नुभयो । यता पहिचानवादी मोर्चाले राजनीतिक दलको आवश्यकता औंल्याएमा नेतृत्वमुखी नभई कार्यकर्ता र नागरिकमुख पार्टी बनाउने उहाँले बताउनुभयो ।
पहिचानको मुद्दालाई मुख्य एजेण्डा बनाएर दल वा पार्टी निर्माण गर्ने र पार्टीलाई कार्यकर्तामुखी बनाउने उहाँको भनाइ छ । कार्यकर्तामुखी दलअन्तर्गत नेतृत्व लगातार दुईपटक नदोहो¥याउने, सामुहिक निर्णयले काम गर्ने, जुन तहले निर्णय गर्छ, त्यसैलाई नेतृत्व वा केन्द्रले स्वीकृत गर्नेजस्ता कार्यनीतिक व्यवस्था रहनेगरी दल निर्माण गरिने उहाँले बताउनुभयो ।
जसपा नेपालका तत्कालीन राजनीतिक समिति सदस्य खगेन्द्र माखिमसहितका नेताहरुका साथ मोर्चाको अभियान लिएर संयोजक लावती ताप्लेजुङ आउनुभएको हो । पत्रकार सम्मेलन कार्यक्रममा जसपा नेपालका ताप्लेजुङ अध्यक्ष कीर्तिमान मादेनसहितका जिल्लास्तरीय नेताहरु सहभागी हुनुभएको थियो । यसअघि जसपा नेपाल विभाजन भई अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी नयाँ दलको रुपमा निर्वाचन आयोगमा दर्ता भएपछि जिल्ला अध्यक्ष मादेनले विज्ञप्ति प्रकाशित गरी तत्कालका लागि यादव र राई नेतृत्वको दुवै दलमा नरहेको उल्लेख गर्नुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts