खुल्ला म्याराथनमा होमलाल र महिला हाफ म्याराथनमा सुनसरी बिजेता,दुबै उपाधि आर्मीको पोल्टामा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ७ । ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवका होमलाल श्रेष्ठले जित्नु भएको छ । महिला हाफ म्याराथनको उपाधि पनि आर्मीकै सुनसरी रोकायाले हात पार्नुभयो ।
४२ बर्षे श्रेष्ठले निर्धारित ४८ किलोमिटर दूरी ४ घण्टा ५ मिनेट २७ सेकेण्डमा पूरा गर्नुभयो । दोस्रो हुनुभएका त्रिभुवन आर्मी क्लवकै तिलक सुनुवारले ४ घण्टा १२ मिनेट ४८ सेकेण्डमा पूरा गर्दा पाँचथर फिदिमका प्रताप थाम्सोहाङले ४ घण्टा १३ मिनेट २४ सेकेण्डमा उक्त दूरी पूरा गर्नुभयो । १५ बर्षदेखि धावक रहँदै आउनु भएका श्रेष्ठले नेपाल बाहेक जापान,चीन र मलेसियाका म्याराथन प्रतियोगितामा सहभागिता जनाएर उपाधि जित्नु भएको छ । २०८१ साल लागिकन भने उहाँको यो पहिलो म्याराथन उपाधि हो । २०८० सालमा उहाँले इलामको माइपोखरी,अन्नपूर्ण क्षेत्र,काठमाडौं र पोखरामा सञ्चालन भएका म्याराथनमा सहभागी भएर कम्तिमा दोस्रो स्थान सम्ममा नाम लेखाउनु भएको छ । चीनमा भएको क्रस कन्ट्री म्याराथनमा समेत उहाँले सहभागिता जनाएर द्धितीय स्थान हासिल गर्नु भएको थियो ।
रोकायाले निर्धारित दूरी ३ घण्टा ४४ मिनेट ५२ सेकेण्डमा पूरा गर्नुभयो । दोस्रो हुनुभएकी ताप्लेजुङ फुङलिङकी कुमारी गुरुङले सोहि दूरी छिचोल्न ४ घण्टा २२ मिनेट ५३ सेकेण्ड खर्चिनु पर्यो । तेस्रो हुनुभएकी ताप्लेजुङको मैवाखोला गाउँपालिकाकी बिनिता तामाङले ४ घण्टा २७ मिनेट ४९ सेकेण्डमा उक्त दूरी पार गर्नुभयो । महिला हाफ म्याराथनका लागि फुङलिङबाट पाथीभरा क्षेत्रको काफ्लेपाटी पुगेर पुनःफुङलिङ फर्किनुपर्ने दूरी निर्धारण गरिएको थियो । खुलातर्फ भने सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिर पुगेर पुनः सदरमुकाम फुङलिङ फर्कने गरी दूरी निर्धारण भएको थियो ।
प्रतियोगितामा खुल्लातर्फ एकसय १६ तथा महिलातर्फ ४७ जना प्रतिश्पर्धी हुनुहुन्थ्यो । खुल्ला म्याराथनतर्फका विजेता श्रेष्ठले नगद एकलाख ५१ हजार १११ रूपैयाँ पुरस्कार पाउनुभयो । उपविजेता सुनुवारले एकलाख ११ हजार १११ रूपैयाँ तेस्रो हुने थाम्सोहाङले ८१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नु भएको छ । महिला हाफ म्याराथनतर्फका बिजेता रोकायाले ८१ हजार १११ रुपैयाँ,उपबिजेता गुरुङले ५१ हजार १११ रुपैयाँ र तृतीय भएकी बिनिताले ३१ हजार १११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउनु भएको छ ।