पाठ्यपुस्तक बोकाईको बोझ हटाउन जनप्रतिनिधिको उपाय ः बिद्यार्थीलाई एक सेट अतिरिक्त पुस्तकको प्रवन्ध

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २ । स–साना बालबालिकालाई पाठ्यपुस्तक बोकाईको बोझ हटाउन ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ का जनप्रतिनिधिले नयाँ उपाय सृजना गर्नु भएको छ ।

बिद्यालयमा एकसेट र घरमा एक सेट पुग्नेगरी वडाभरीका कक्षा र १ र २ बालबालिकालाई पाठ्यपुस्तकको प्रवन्धमा जनप्रतिनिधिले आफ्नो मासिक सुविधा खर्चिनु भएको छ । फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज)का अनुसार वडाका सबै जनप्रतिनिधि मिलेर वडा भरीका कक्षा १ र २ मा पढ्ने बालबालिकाका लागि एक–एक सेट पाठ्यपुस्तक खरिद गरिदिनु भएको छ । गुरुङका अनुसार वडाभरीमा सामुदायिक बिद्यालय अध्ययन गर्ने ४५ जना बालबालिका छन् । उनीहरुका लागि आवश्यक पर्ने पाठ्यपुस्तक खरिदमा वडापालिकाका जनप्रतिनिधिले २८ हजार ८ सय ८ रुपैयाँ खर्चिनु भएको छ । यो रकम वडापालिकाका जनप्रतिनिधिले पाउने सुविधा भित्रबाट खर्च गरिएको हो उहाँले जानकारी दिनुभयो ।

फुङलिङ नगरपालिका वडा नं ६ मा बगरवारी आधारभूत बिद्यालय,बाँजोगरा आधारभूत बिद्यालय र अमर स्मृति आधारभूत बिद्यालय गरी तीनवटा सामुदायिक बिद्यालय रहेका छन् । दुई–दुई सेट पाठ्यपुस्तक भएपछि अब बालबालिकाले एकसेट घरमै बसेर पढ्ने छन भने एकसेट बिद्यालयमै राख्नेछन् । बिद्यालयम पाठ्यपुस्तक भएकोले बालबालिकाले पाठ्यपुस्त बोकेर बिद्यालय गईराख्नु पर्दैन ।‘अब कापी र डटपेन मात्र बोकेर बिद्यालय गए पुग्छ’वडाध्यक्ष गुरुङले भने । साना बालबालिकामा पाठ्यपुस्तक बोकेर हिड्नुपर्ने बोझ हटाउन यो उपायले सघाउ पुर्याउने गुरुङले विश्वास लिनु भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts