|

केबलकारविरुद्ध संघर्षरत पक्षद्वारा यातायात बन्दको आव्हान

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १ । ताप्लेजुङमा निर्माण गरिने पाथीभरा केबलकार परियोजनाविरुद्ध संघर्षरत रहेको समूहले बुधबार र बिहीबार दुई दिने यातायात बन्दको आह्वान गरेको छ । आफ्नो माग विपरीत क्रियाकलाप सुरु गरिएकोभन्दै संघर्षरत समूहले मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ जिल्लामा यातायात बन्द आह्वान गरेको हो ।
स्थानीय जनताको माग र भावना विपरीत केबलकार निर्माण गर्न लागिएकोभन्दै सुरुदेखि नै परियोजनाविरुद्ध संघर्ष हुँदै आएको छ । सोमबारदेखि भने परियोजनास्थलमा रुख कटान सुरु भएपछि संघर्षरत समूह थप आन्दोलित बनेको र सो समूहले दुइदिने यातायात बन्दको आह्वान गरेको हो ।
केबलकार परियोजनाविरुद्ध संघर्षरत मुक्कुमलुङ संयुक्त संघर्ष समितिसहित छ समूहले मंगलबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै यातायात बन्दको आह्वान गरेका छन् । बन्द आह्वान गर्ने अन्य समूहमा पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किराँच याक्थुङ चुम्लुङ संघीय समिति, लिम्बू थरगत संस्था (याक्थुङ सयङ), पहिचानसहितको प्रदेश नं. १ पुनः नामांकन समिति तथा किराँत धर्म तथा साहित्य उत्थान संघ र मुक्कुमलुङ तान्सेःप चुम्भो रहेका छन् ।
पवित्र आस्थाको केन्द्र तथा आध्यात्मिक पाथीभरा (मुक्कुमलुङ) युमामाङ देवस्थलमा केबलबार निर्माण गर्न लागिएकोभन्दै उक्त समूहरुले चर्को विरोध गर्दै आएका छन् । ऐतिहासिक पवित्र धार्मिकस्थलको संरक्षण गर्न आन्दोलन गर्दै आएको पक्षको मागविपरीत बहुमूल्य जडीबुटी, राष्ट्रिय फूल लालीगुराससहितका उपोन्मुख वनस्पतिहरु डकैत शैलीमा आधारातदेखि कटान गरिएको संघर्षरत समूहले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
ऐतिहासिक स्थलको वन उजाड बनाउनेगरी रुख कटान गर्ने व्यक्तिहरुले सार्वजनिक रुपमा माफी माग्नुपर्ने र केबलकार योजना रद्ध गर्न माग राखेर यातायात बन्द आह्वान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यता सोमबार बिहानदेखि रुख कटान गर्न सुरु भएपछि संघर्षरत समूहका सयौं कार्यकर्ता अहिले पाथीभरा क्षेत्रमा परिचालित भएका छन् ।
पाथीभरामा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षसमेत रहनुभएका चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले केबलकार निर्माण गर्न लागेको हो । पाथीभरामा केबलकार परियोजना सञ्चालन हुने भएपछि परियोजनाको पक्ष र विपक्षमा स्थानीय विभाजित हुँदै आएका छन् ।

Similar Posts