ताप्लेजुङ पर्यटन महोत्सवको पूर्व सन्ध्यामा झकिझकाउ बनाउन थालियो फुङलिङ बजार

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ३१ । जेठ ३ देखि फुङलिङमा हुने ताप्लेजुङ पर्यटन महोत्सवको पूर्व सन्ध्यामा फुङलिङ बजार भकिझकाउ बनाउन थालिएको छ ।

सोमवार बिहान फुङलिङमा बृहत्त सरसफाई कार्यक्रम गरिएको छ भने स्थानीयले स्फुर्त रुपमा ध्वजापतका र तुल व्यानर सजाउन थालेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले महोत्सव सफल बनाउन स्थानीयबासिन्दाहरु स्वतस्फुर्त रुपले महोत्सवका बिभिन्न कार्यक्रममा सक्रिय रुपले सहभागी बन्न थालेको जानकारी दिनुभयो । ५ दिने महोत्सवका क्रममा आइतवारबाटै फुङलिङ बजारमा ध्वजापतका सजाएर बजारक्षेत्र रंगीचंगि बनाउन थालिएको छ ।

‘समुदायका सदस्यहरु आफैं मिलेर आ–आफ्नो टोल क्षेत्र सजिसजाउ गर्न थाल्नु भएको छ’नगर श्रृंगार उपसमितिका संयोजक लिलाराज पौडेलले बताउनुभयो । उहाँका अनुसार सोमवार बिहान तोक्मेडाँडामा भेला भई नगर सफाई गरिएको छ । महोत्सवस्थल हुलाक कार्यालय मास्तिरको खाली जमिनमा स्टल निर्माणको कार्य सुरु भएको छ । सार्वजनिक खुल्ला जमिन नभएका कारण यसपटक महोत्सवस्थल त्यहाँ कायम गरिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । महोत्सव मूल आयोजक समितिका सहसंयोजक तथा फुङलिङ नगरप्रमुख अमिर मादेनले महोत्सव स्थलको एकभागमा अन्तरपालिका स्तरीय मेयर कप भलिबल तथा अर्को भागमा महोत्सवको मुख्य मञ्च तथा स्टलहरु तयार गर्न थालिएको जानकारी दिनुभयो ।

महोत्सवलाई भव्य र सफल बनाउन मूल समिति अन्तरगत गठित उपसमितिले आ–आफ्नो विभागीय जिम्मेवारीलाई असल मनशायका साथ बोध गरेको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव देवराज गुरुङले जानकारी दिनुभयो । जेठ ७ गते खुल्ला तथा महिला हाफ म्याराथन हुने छ । खुल्लातर्फ तोक्मेडाँडाबाट सुरु भई ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिर पुगेर पुनःतोक्मेडाँडा तथा महिला हाफ म्याराथनतर्फ तोक्मेडाँडाबाट सुरु भई पाथीभरा क्षेत्रको काफ्लेपाटी पुगेर पुनःतोक्मेडाँडा सम्म फर्कनुपर्नेगरी दुरी निर्धारण गरिएको छ । सो अवसरमा अन्तरपालिका स्तरीय मेयरकप भलिबल प्रतियोगिता समेत हुने छ ।

औद्योगिक मेला प्रर्दशनी,बक्तृत्वकला प्रतियोगिता,साहित्यिक स्रष्टा सम्मान तथा साहित्य उत्सव,साँस्कृतिक कार्यक्रम अन्तरगत प्रताप दास र सुनिता थेगिमको उपस्थितिमा साँस्कृतिक साँझ,डोको क्यारी रन,डोको र टपरी बुन्ने प्रतियोगिता,लागु औषध दुव्र्यसन बिरुद्धका चर्चित अभियान्ता प्रमिस भोटियाको उपस्थितिमा सचेतनामूलक कार्यक्रम र ताप्लेजुङमा रहेका बिभिन्न पर्यटकिय स्थलहरुको प्रर्दशनी सहितका कार्यक्रम हुने भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts