हिमाली जिल्ला ताप्लेजुङमा पनि भेटिन थाले कालाजर संक्रमित
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १६ । हिमाली जिल्ला ताप्लेजुङमा पनि कालाजरका संक्रमित देखिन थालेका छन् । ताप्लेजुङमा फागुन र चैत महिनामा कालाजरका दुईजना संक्रमित भेटिएका छन् ।
ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक विजया राईका अनुसार फागुन र चैतमा १–१ जना कालाजर संक्रमित भेटिएका हुन् । राईका अनुसार चैतम २९ गते फुङलिङ नगरपालिका वडा नं ८ का २३ वर्षे पुरुषमा कालाजरको संक्रमण देखिएको थियो । गत फागुन ११ गते आठराई त्रिवेणी गाउँपालिकाका एक ५५ वर्षे पुरुषमा पनि कालाजरको संक्रमण देखिएको थियो । कालाजरको संक्रमण देखिएका दुबै बिरामीलाई यहाँबाट थप उपचारका लागि सुबिधा सम्पन्न अस्पताल रिफर गरिएको ताप्लेजुङ जिल्ला अस्पताले जनाएको छ । यहाँबाट प्रायः झापा र मोरङका अस्पतालका रिफर गर्ने गरिएको छ ।
कालाजारलाई अंग्रेजीमा भिसेरल लिस्मनाइअसिस,ब्ल्याक फिबर वा डमडम फिबर भनेर चिनिन्छ । प्रोटोजोआको लिस्मेनिया वर्गमा पर्ने परजीवीका कारणले हुने यो रोग विभिन्न प्रकारका लिस्मनाइअसिस मध्ये सबैभन्दा गम्भीर प्रकारको रोग हो । स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण यो लाग्ने गर्दछ । परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरू मध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ । संक्रमण भएपछि यो रोगको परजीवीहरू कलेजो तथा फियो जस्ता भित्री अङ्गमा सर्ने हुनाले यसलाई अंग्रेजीमा भिसेरल लिस्मनाइअसिस भनिएको हो । यो परजीवी हाडमांसीमा पनि सर्ने गर्दछ । कालाजारको संक्रमण भएपछि उपचार गरिएन भने प्राय सबै बिरामीको मृत्यु जोखिम हुन्छ ।
ज्वरो आउनु, तौल घट्नु, थकान महशुस हुनु, रक्तअल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्य रूपमा वृद्धि यो रोगका मुख्य लक्षणहरु हुन् । प्राय साँझदेखि बिहानसम्म यो भुसुना सक्रिय हुने हुनाले सकेसम्म यो समयमा बाहिर ननिस्कन,बाहिर जाँदा वा असुरक्षित घरहरूमा बस्दा मौसम अनुसार सहन सक्ने गरी शरीरको धेरै भाग छोप्ने कपडा लगाउन र शरीरको लुगाले नढाकिएको भागमा तथा सर्टको बाउला र पाइन्ट गोडातिरको खुल्ला भागमुनि किरा भगाउने मल्हमहरू लगाउने सहितका विधि अपानाए कालाजरको संक्रमणबाट बच्न सकिने चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् ।