ताप्लेजुङमा विपद् बिरुद्ध नमूना अभ्यास शिक्षण गराईयो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ८ । आलगागीका घटनामा कमी नआएपछि जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले यहाँस्थित तीनवटै सुरक्षा निकायका दक्ष जनशक्तिको सहभागितामा शनिवार विपद् बिरुद्ध नमूना अभ्यास शिक्षण गरेको छ ।

सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाको मुख्य संयोजनमा नेपाली सेनाको यहाँस्थित दुर्गादल गुल्म र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सहभागितामा नमूना अभ्यास शिक्षण गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक रवीन सिलवालले जानकारी दिनुभयो । नमूना अभ्यास शिक्षणका क्रममा बिद्युत सर्ट भई भएको आगलागी,यसको नियन्त्रणका उपाय र समुदायले बन्नुपर्ने सावधानीका बिषयमा जानकारी गराईएको थियो । यस्तै आगलागीबाट जोगिन गर्नुपर्ने पूर्व तयारी तथा आगलागी पछि गरिने प्रतिकार्यका बिषयमा समेत सरोकारवालालाई जानकारी गराईएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

नमूना अभ्यास शिक्षणका क्रममा खाना पकाउने ग्याँस सिलिण्डरबाट हुने सम्भावित आगलागी जोखिम र जोखिम नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी,खाना पकाउँदै गरेको समयमा हुने आगलागी जोखिम नियन्त्रण गर्ने उपाय सहितका बिषयमा जानकारी गराईएको थियो । राहत तथा उद्धारका क्रममा सक्रिय रेडक्रस सोसाईटी,उद्योग बाणिज्य संघ,सञ्चारसंस्था तथा सञ्चारकर्मी सहितका निकायसंग हुनुपर्ने सम्पर्क र समन्वय बारे समेत नमूना अभ्यास शिक्षणमार्फत जानकारी गराईएको मुख्य आयोजक सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा अन्तरगत ढुङगेसाँघु बेसक्याम्पका सशस्त्र प्रहरी निरीक्षक बिराज कटुवालले जानकारी दिनुभयो । सप्रनी कटुवालका अनुसार सो बेला विपद् प्रतिकार्यका क्रममा प्रयोग हुने सामग्री र यसको उपयोग गर्ने तरिका बारे समेत जानकारी गराईएको थियो ।

कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले विपद् आउनुपूर्व अपनाउनुपर्ने सावधानी र विपद् पछिको समयमा हुने प्रतिकार्यका बारेमा सर्वसाधारणलाई जानकारी गराउन यस्ता अभ्यास शिक्षण कामयावी हुने विश्वास लिनुभयो । उहाँले विपद् पूर्व सर्वसाधारणले अपनाउनुपर्ने सावधानीका सबै सूचकको उचित पालना गरे विपद्को जोखिमबाट बच्न सकिने बताउनुभयो ।

बिद्युतसर्ट भई आगलागी हुने,खाना पकाउने क्रममा आगो नियन्त्रण बाहिर जाने र आगलागी हुने जस्ता समस्या पछिल्लो समयमा बढ्दै गएका छन् । यस्ता जोखिम हटाउन घरमा प्रयोग भएका बिद्युतीय तारबार तथा उपकरणको समय–समयमा परीक्षण गर्ने,खाना पकाईसकेपछि ग्याँस सिलिण्डरको रेगुलेटर राम्ररी बन्द गर्ने,आगोलाई रुँघेर बाल्ने र काम सकिएपछि राम्ररी निभाउने,ग्याँस सिलिण्डरमा प्रयोग भएको नाला(पाइप)ठीक भए नभएको बारे बेलाबेला परीक्षण गर्ने सहितका कार्य गर्दापनि आगलागीको जोखिम कम हुने गर्छ । अहिले मनसुन समय सुरु भएकोले बाढी र पहिरोको जोखिम समेत बढ्ने गर्छ ।

भिरालो जमिन भएको र वरिपरी डाँडाकाँडा तथा ढिस्को भई बीच भागमा घरबस्ति भएका क्षेत्र पहिरोको उच्च जोखिममा हुने भएकोले मनसुन समयमा यस्तो क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ । नदी तथा खोला तटिय क्षेत्रमा बर्षायामको समयमा पानीको सतह बढ्न सक्ने भएकोले सो क्षेत्रका बासिन्दाले समेत सजगता अपनाउन विज्ञहरुले भन्दै आएका छन् । कार्यक्रममा दुर्गादल गुल्मका गुल्मपति मदन घिमिरे,जिल्ला प्रहरी प्रमुख(डिएसपी)रवि रावल,सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts