ताप्लेजुङमा वाङमय हस्तान्तरण तथा कृति लोकार्पणका साथ प्रतिभा सम्मान तथा छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ५ । ताप्लेजुङमा बुधवार वाङमय हस्तान्तरण तथा कृति लोकार्पणका साथ पण्डित बृहस्पति गौतम स्मृति प्रतिष्ठानद्धारा प्रतिभा सम्मान तथा छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न भएको छ ।

कथाकार, उपन्यासकार र समालोचकसमेत रहनुभएका डाक्टर गोविन्दराज भट्टराई सहितका अग्रज साहित्य साधकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे सहितका अग्रज साहित्य स्रष्टाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमकाबीच पण्डित बृहस्पति गौतम स्मृति प्रतिष्ठानले विभिन्न प्रतिभाहरुलाई सम्मान तथा छात्रवृत्ति बितरण गरेको छ ।

‘हर्राबोटे पण्डित’ ले परिचित बृहस्पति गौतम कुनै ओैपचारिक शिक्षा नलिइ स्वाध्याय र साधनाको ऊर्जाले श्रीमद् भागवत महापुराण वाचन गर्ने ताप्लेजुङ क्षेत्रका विद्वान तथा शिक्षाको मुहानको रुपमा चर्चित हुनुहुन्छ । उहाँका प्रवचन र ज्ञानगुणका कुराको चर्चा तत्कालीन समयमा तेह्रथुम, पाँचथर इलाम लगायतका स्थानसम्म फैलिएको मानिन्छ । उहाँको स्मृतिग्रन्थमा उल्लेख भए अनुसार उनी लिम्बू भाषामा पुराण तथा धाराप्रवाह प्रवचन दिन पोख्त हुनुहुन्थ्यो । बिक्रम् सम्वत् २०१२ सालमा योगी नरहरिनाथको पाथीभरा मन्दिर यात्राका क्रममा ताप्लेजुङमा योगीको प्रवचन राखिएको र योगीको भावना र चेतनालाई स्थानीय जनताले बुझ्नेगरी सरल ढङ्गले जानकारी गराउन लिम्बू भाषाको ज्ञाता खोज्दा ‘हर्राबोटे पण्डित’ भेटिएकोले उहाँमार्फत नै धर्मको सार अवगत गराइएको मानिन्छ ।

बिक्रम् सम्वत १९७० कात्तिक २ गते जन्मिनु भएका ‘हर्राबोटे पण्डित’को २०५६ साल साउन १ गते मृत्यु भएको थियो । उहाँको स्मरण तथा सम्मानमा उहाँका परिवार सदस्यहरु हेमसागर गौतम, महेन्द्रप्रसाद गौतम, भिमप्रसाद गौतम, हरि गौतम र लेखनाथ गौतम समेतको सक्रियतामा २०६९ सालमा २ सय ७२ पृष्ठको स्मृतिग्रन्थ प्रकाशित समेत भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले साहित्य सजर्कहरुको उपस्थिति र प्रतिभा सम्मानले ताप्लेजुङको माटोमा साहित्ययात्रा फराकिलो बनाउन योगदान पुगेको विश्वास लिनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts