संक्रमणको स्रोत पत्ता नलागेसम्म एन्टीबायोटिक्सको प्रयोग नगर्न नगराउन विज्ञहरुको सुझाव

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ५ । मानव स्वास्थ्य र पशु स्वास्थ्य विज्ञहरुले एन्टीबायोटिक्सको विवेकपूर्ण प्रयोगमा जोड दिएका छन् ।

बुधवार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले ताप्लेजुङको फुङलिङमा आयोजना गरेको कार्यक्रममार्फत सम्वन्धित विज्ञहरुले यस्तो सुझाएका छन् । ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर ओमप्रकाश थापा मगरले डाक्टरले सिफारिस गरेको आधारमा पनि सहि मात्रा र सहि अवधिमा मात्र एन्टीबायोटिक्स प्रयोग गर्नुपर्ने बताउनुभयो । एन्टीबायोटिक्सको उचित भण्डारण र बिस्थापनमा समेत ध्यान दिनु अनिवार्य रहेको थापाको भनाई छ ।

एन्टीबायोटिक्सलाई बिस्थापन गर्दा समेत ध्यान नदिएमा यसले अर्को स्वास्थ्य समस्या निम्त्याउने भएकोले बिस्थापन र भण्डारण समेत ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो ।‘डाक्टरको सिफारिस बिना एन्टीबायोटिक्स बिक्री वा खरिद गर्न पाईदैंन,सिफारिसका आधारमा समेत सहि मात्रा र सहि अवधिमा प्रयोग गर्ने बारे बिबेक पु¥याउनु पर्छ’थापाले भन्नुभयो । उहाँले संक्रमणको स्रोत पत्ता लागेर चिकित्कसले सिफारिस गरेको आधारमा मात्र एन्टीबायोटिक्स प्रयोग गर्न क्रेता तथा बिक्रेता दुबैलाई आग्रह गर्नु भएको छ । धातुको भाडामा एक तिहाई भरेर सिमेन्टले राम्रोसंग घेरागरेपछि एन्टीबायोटिक्स बिस्थापन गर्न सकिने उहाँले बताउनुभयो ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका प्रमुख डाक्टर मनोजकुमार महतोले सकेसम्म एन्टीबायोटिक्स प्रयोग नगर्नु राम्रो हुने बताउनुभयो । उहाँले जैविक सुरक्षा सुरक्षा सहित पशुपंक्षि बस्ने असल र स्वस्थ्य वातावरणको निर्माण गरेर र फार्म व्यवस्थापनमा ध्यान दिएर संक्रमण लाग्ने सम्भावना घटाउन सकिने बताउनुभयो । डाक्टर महतोले पशुमा ज्वरोको समस्या देखिने वित्तिकै एन्टीबायोटिक्स चलाउन नहुनेतर्फ समेत हुने पशु स्वास्थ्य प्राविधिकहरुको ध्यानाकर्षण गराउनुभएको छ । संक्रमणको स्रोत पत्ता लागि पशु स्वास्थ्य चिकित्सकले सिफारिस गरेको आधारमा अति आवश्यकता भएको बेला आधिकारिक बिक्रेताबाट खरिद गरी मात्रा(डोज) र समयावधि एकिन गरेर मात्र एन्टीबायोटिक्स चलाउन डाक्टर महतोले पशु स्वास्थ्य प्राविधिकहरुलाई सल्लाह समेत दिनु भएको ।

एन्टीबायोटिक्सले जिवाणुलाई मात्र काम गर्छ । भाइरसलाई एन्टीबायोटिक्सले काम नगर्ने भएकोले संक्रमणको स्रोत पत्ता लगाउनु अनिवार्य रहेको चिकित्सकद्धयले बताएका छन् । परीक्षण बेगर मनलाग्दो रुपले एन्टीबायोटिक्सको प्रयोग गर्ने हो भने यसले अर्को स्वास्थ्य जोखिम बढाउने उनीहरुको भनाई रहेको छ । एन्टीबायोटिक्स संक्रमण भएको बेला प्रयोग हुने रसायनिक तत्व हो । एन्टीबायोटिक्स चलाएको निश्चिन अवधि सम्म पशुजन्य उत्पादनको प्रयोग गर्न नहुने तथा पशुपंक्षिको बध समेत गर्न नहुने डाक्टर महतोले बताउनुभयो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अधिकृत निरज भट्टराईले मानव–पशुपंक्षि एकअर्काका परिपूरक भएकोले एन्टीबायोटिक्सको उचित प्रयोगका बारेमा दुबै पक्षका सरोकारवालाई एकसाथ अभिमुखीकरण गराएको बताउनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts