| |

आँखा शिविरमा सहयोग गर्ने सबैलाई नेत्रज्योतिको सम्मान

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २१ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङले आँखा शिविर सञ्चालनमा सहयोग पुर्याउने सबैलाई सम्मान गरेको छ । निःशुल्क आँखा शिविर सम्पन्न गर्नलाई मुख्य प्राविधिकसहित सबैखाले सहयोग गर्नेलाई नेत्रज्योति संघले धन्यवाद दिँदै सम्मान गरेको हो ।
सदरमुकाम फुङ्लिङस्थित डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रमा मंगलबार र बुधबार दुई दिन निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो । मेची आँखा अस्पताल विर्तामोड झापा र मातृका आई केयर काठमाडौंको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो ।
नेत्रज्योति संघ र संघद्वारा आँखा उपचार केन्द्रले बुधबार साँझ संयुक्त रुपमा शिविर समापन तथा विदाई कार्यक्रमको आयोजना गरी सहयोगीलाई सम्मान गरेको हो । कार्यक्रममा शिविरका लागि प्राविधिक सहयोग गर्ने मेची आँखा अस्पताल र मातृका आई केयरका नेत्र चिकित्सकसहित संलग्न टोलीलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ ।
यस्तै शिविर व्यवस्थापन, स्वयंसेवक लगायत भूमिका निर्वाह गर्नेलाई पनि नेत्रज्योति संघले सम्मान गरेको छ । नेत्रज्योति संघका जिल्ला सभापति राजकुमार गुरुङले सहयोगी सबैलाई मायाको चिनो प्रदान गर्दै सम्मान गर्नुभयो । यस्तै सफलतापूर्वक शिविर सम्पन्न गर्नलाई मुख्य भूमिकामा प्राविधिक सहयोग गर्ने निकाय र अन्य सबै सहयोगीलाई मायाको चिनो, प्रसंसापत्र प्रदान गरेर सम्मान गरिएको नेत्रज्योति संघका उपसभापति खगेन्द्र अधिकारीले जनकारी दिनुभयो ।
मंगलबार र बुधबार दुई दिन सञ्चालित शिविरमा मोतिविन्दुका रोगीसहित ५७ जना विरामीको आँखाको शल्यक्रिया गरिएको छ । शिविरमार्फत ४८ जना मोतिविन्दुका रोगी र नौ जनाको आँखाको साधारण शल्यक्रिया गरिएको डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्थ काजीमान गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार दुई दिने शिविरमा ६१६ जनाले आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेका थियो ।
यता शिविर समापन तथा विदाई कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, नेत्रज्योति संघ तथा डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्र परिवारका पदाधिकारी र अन्य सदस्य साथै कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts