पाथीभरामा एकैदिन पाँच हजार भक्तजन
-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १८ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा शनिबार एकैदिन पाँच हजार बढी भक्तजनले दर्शन गरेका छन् । मौसममा सुधार आउन थालेसँगै पाथीभरा दर्शन गर्ने भक्तजनको भीड लाग्न थालेको हो ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार भक्तजनको निकै भीड लागेको छ । यकिन तथ्यांक आइनसके पनि शनिबार एकैदिन पाँच हजार बढी भक्तजन पाथीभराको दर्शन गर्न पुगेका अनमान गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।
उहाँकाअनुसार पूर्वका जिल्लाबाट अधिक भक्तजन पाथीभराको दर्शन गर्न आएका छन् । यस्तै संघीय राजधानी काठमाडौंसहित टाढा–टाढाका विभिन्न जिल्लाबाट भक्तजनहरु आएर पाथीभराको दर्शन गरेका छन् । नेपाल बाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतका ठाउँबाटसमेत उल्लेख्य रुपमा भक्तजन आएका समितिले जनाएको छ ।
चैते दसैँ अर्थात रामनवमी पर्व नजिकिएसँगै पाथीभरा दर्शनको मौसम सुरु भएको छ । बडा दसैँ र तिहारको मौसमलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ भने हालको मौसमलाई दोस्रो सिजन मानिन्छ । पाथीभरा दर्शन गर्ने दोस्रो सिजन (मौसम) भएकाले भक्तजनको बाक्लो आगमन सुरु भएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयोे ।
यता मुख्य सिजन बाहेकका समयमा पनि भक्तजनहरुको आउजाउ बाक्लै हुने गरेको छ । पाथीभरा धाम तीन हजार ७९४ मिटरको उचाइमा रहेकाले चिसो मौसममा भने केही न्युन तीर्थयात्री दर्शन गर्न पुग्ने गरेका छन् । बाँकी समयमा देश विदेशबाट उल्लेख्या सङ्ख्यामा भक्तजन आउने र पाथीभराको दर्शन गर्ने गरेका समितिको तथ्याङ्क रहेको छ ।