|

ताप्लेजुङमा डढेलो र अन्य कारणले १६ घर जल्यो

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ८ । ताप्लेजुङमा फागुन महिनायता डढेलो र अन्य कारणबाट सोह्र वटा घर जलेर नस्ट भएका छन् । प्रहरीका अनुसार सुख्खा मौसमसँगै वनमा लागेको डढेलो, भान्साकोठा र विधुत सर्ट भएरजस्ता कारणबाट आगलागी भई उक्त सङ्ख्यामा घर जलेर नस्ट भएका हुन् ।
सुख्खा मौसमसँगै हिउँदभर वर्षा नभएकाले डढेलो र आलगालीका घटना वृद्धि भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार फागुनयता मंगलबार सम्ममा वनमा लागेको डढेलोको आगोले १२ वटा र अन्य कारणबाट सुरु भएको आगोले चारवटा घर जलेर नस्ट भएका छन् ।
वनमा लागेको डढेलोका कारण चैतको पहिलो साताको अवधिमा मात्र ११ वटा घर जलेर नस्ट भएको प्रहरीको तथ्यांक छ । यस्तै चैतमा एक घर अन्य कारणबाट सुरु भएको आगोले जलेको छ भने गएको फागुन महिनामा डढेलोले एक घर र अन्य भान्सा कोठा तथा विधुत सर्ट भएर सल्केको आगोले तीनवटा घर नस्ट भएको छ ।
यसरी डढेलो र अन्य कारणले सुरु भएको आगोले झण्डै डेढ दर्जन घर जलेर नस्ट भए पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले बताउनुभयो । उहाँका अनुसार घरसँगै नजिक रहेका पशुचौपापाका गोठ तथा ग्वालीहरु आगलागी भएका कारण केही पशुपन्छीहरु जलेका छन् । अधिकांस आगलागी घटनाका क्षतिको प्रारम्भिक विवरण आए पनि यथार्थ विवरण आइनसकेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी फागुनयता विभिन्न क्षेत्रमा गरी करिव दर्जन ठाउँका वनमा डढेलो लागेको छ । राष्ट्रिय तथा सामुदायिक वनहरुमा लागेको डढेलोका कारण रुख, बोट, बिरुवा तथा बहुमूल्य जडीबुटी र वनस्पतिमा क्षति पुगेको प्रहरीले जनाएको छ । त्यस्तै वन्यजन्तुलाई असर पुगेको छ भने सुस्म जीवहरु जलेर नस्ट भएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले भने लामो खडेरीका कारण करिव चार दर्जनको हाराहारीमा विभिन्न क्षेत्रका वनमा डढेलो लागेको बताउनुभयो । उहाँले फागुनदेखि चैत महिनाको पहिलो हप्ता सम्ममा करिव आठ सयदेखि एक हजार हेक्टर क्षेत्रफल बराबरको वन जंगलमा डढेलो लागेको जानकारी दिनुभयो । पछिल्लो समय डढेलोका घटना वृद्धि हुने क्रम रहेकोमा मंगलबारदेखि पानी पर्न थालेकाले डढेलो नियन्त्रणमा सहयोग पुगेको उहाँको भनाइ छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts