सिरिजङ्गा गाउँपालिकाद्धारा गाउँ–गाउँबाट छनौट भएका मोतियाबिन्दुका बिरामीलाई शल्यकृया गर्न सुरु
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ४ । गाउँ–गाउँमा पुगेर मोतियाबिन्दुका बिरामी छनौट गरेको ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आइतवारबाट पालिकाको केन्द्र तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मोतियाबिन्दुका बिरामीको शल्यकृया सुरु गरेको छ ।
मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोगमा शल्यकृया आरम्भ भएको हो । पहिलो दिन ३४ जना मोतियाबिन्दुका बिरामीको आँखाको शल्यकृया गरिएको सिरिजङ्गा गाउँपालिकाका सूचना अधिकारी तथा स्वास्थ्य शाखा संयोजक संजीव सिंहले जानकारी दिनुभयो । पालिकाले यसअघि पालिकाका प्रत्येक वडामा पुगेर मोतियाबिन्दुका बिरामीको छनौट गरेको थियो । प्रत्येक वडामा छनौट भएका मोतियाबिन्दुका बिरामीलाई पालिकाले यातायातको प्रवन्ध गरी शल्यकृया स्थल प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको र छनौट भएका बिरामीलाई सोमवार र मंगलवार पनि ल्याईने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले जानकारी दिनुभयो ।
आइतवार पनि पालिकाको केन्द्र तेल्लोकमा आँखाको परीक्षण तथा मोतियाबिन्दुका बिरामी छनौट गरिएको छ । यो क्रममा १० जना मोतियाबिन्दुका बिरामी भेटिएको र यो क्रम सोमवार पनि जारी रहने समेत पालिकाले जानकारी दिएको छ । आइतवार २ सय ५३ जनाको आँखाको परीक्षण तथा १ सय ४४ जनाको स्वास्थ्य जाँच तथा उनीहरुलाई निःशुल्क औषधि बितरण गरिएको पालिकाले जनाएको छ । यसअघि एकीकृत घुम्ति शिविर लिएर गाउँ गाउँ पुगेको टोलीले सिकैचामा ७ जना, मामाङ्खेमा १२,खेवाङमा ७,सिनाममा १८ र आम्बेगुदिनमा २२ जना मोतियाबिन्दुका बिरामी भेटिएका थिए । उनीहरु सबैलाई यातायात सुबिधा सहित शल्यकृयाको लागि व्यवस्थापन गरिएको समेत पालिकाले जनाएको छ ।
एकीकृत घुम्ति शिविरका क्रममा पालिकाको केन्द्रस्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकका मेडिकल अधिकृत डाक्टर सञ्जित भट्टराईको नेतृत्वमा स्वास्थ्य जाँच तथा निःशुल्क औषधि बितरण हुँदै आएको थियो । यो क्रम सोमवार र मंगलवार पनि जारी रहने पालिकाले जनाएको छ । एकीकृत घुम्ति शिविर अन्तरगत पालिकाले वडा नं ६ मामाङ्खे,वडा नं ७ खेवाङ र वडा नं ८ याम्फुदिनलाई लक्षित गरी खेवाङ,वडा नं १ सिनाम,वडा नं २ आम्बेगुदिन,वडा नं ३ सिकैचा तथा वडा नं ४ तेल्लोक र वडा नं ५ पेदाङलाई लक्षित गरी चैत ४ देखि ६ गते सम्म सेवा बितरण गर्ने जनाएको छ ।
एकीकृत घुम्ति शिविरमा जन्म,मृत्यु,बिबाह,बसाँईसराई सहितका कार्य हुने व्यक्तिगत घटना दर्ता,बैंक खाता खोल्ने,व्यवसाय दर्ता तथा नविकरण,निःशुल्क औषधि बितरण तथा चेकजाँच र उपचार र गाउँपालिका तथा वडाबाट सञ्चालन हुने योजनाको प्राविधिक मूल्याङ्कन,सम्झौता र अनुगमन सहितका कार्य हुँदै आएका छन् ।