| |

नारी दिवसका दिन महिलाहरु श्रम गर्न व्यस्त

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २५ । शुक्रबार ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका महिलाहरु मजदुरी गर्न व्यस्त भएका छन् । घर खर्च टार्ने आर्थिक व्यवस्थापनका लागि यहाँका महिलाहरु मजदूरी काममा व्यस्त भएका हुन् ।
मजदुरी नगरी बिहान बेलुकाको छाक टार्नेदेखि अन्य घर खर्च जोहोका लागि सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनका महिलाहरु मजदुरी गर्नमा व्यस्त बनेका हुन् । सरकारले नारी दिवसको विदा दिए पनि श्रम तथा मजदुरी गर्नु बाध्यता भएको काममा संलग्नहरु महिलाहरु बताउँछन् । घरायसी समस्या भएपछि नारी दिवस नभनी दिनैभर मजदुरीको काममा व्यस्त हुनुपरेको उनीहरुको भनाइ छ ।
लिम्बुदिनकी वडासदस्य रेनु लिम्बूकाअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत महिलाहरुले मजदुरी गर्दै आएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुनलाई आवेदन दिएका मध्येबाट छनोट भएका महिलाहरुले अहिले श्रम गरिरहेका उहाँले बताउनुभयो । वडाले छनोट गरेको घोरेटो बाटो निर्माणमा महिलाहरुले मजदुरी गर्दै आउनुभएको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिनेहरुबाट १५ जना छनोटमा पर्नुभएको र उक्त सङ्ख्यामध्ये १३ जना महिला रहेको वडाध्यक्ष अम्बरबहादुर लिम्बूले जानकारी दिनुभयो । कार्यक्रमको मापदण्डअनुसार छनोटमा परेका विपन्न परिवारका श्रमिकले हिजोआज धमाधम मजदुरीको काम गरिरहेका वडाध्यक्ष लिम्बूले बताउनुभयो । वडाबाट छनोट भएको योजना तोक्रिम्बा–पिप्ले हुँदै जनता आधारभूत विद्यालय जोड्ने घोरेटो बाटो निर्माणको काम हुँदै आएको उहाँले जानकारी दिनुभयो ।
उहाँकाअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नै घोरेटो बाटोसँगै जगतकाली आधारभूत विद्यालयको खेल मैदान निर्माणको योजना पनि रहेको छ । यस कार्यक्रममा समावेश भएर मजदुरी गर्नेको दैनिक पारिश्रमिक भने ६६८ रुपियाँ रहेकोसमेत उहाँले जानकारी दिनुभयो । चालू आर्थिक वर्षका लागि गाउँपालिकाबाट वडालाई प्रधानमन्त्री रोजगार कार्यक्रमको चार लाख ५० हजार रुपियाँ बजेट विनियोजन भएको वडा कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts