वातावरण संरक्षणसम्बन्धी बाह्य कक्षा कार्यक्रम सञ्चालन
-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २५ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित एक विद्यालयमा वातावरण संरक्षणसम्बन्धी बाह्य कक्षा कार्यक्रम सञ्चालन गरिएको छ । ढोक्प्या लर्निङ ग्राउण्ड्स नामक संस्थाको आयोजनामा वातावरण संरक्षणसम्बन्धी बाह्य कक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
मिक्वाखोला गाउँपालिका–५ पापुङको स्थानीय बाल्देन माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत विद्यार्थीलाई सहभागी गराई सो कार्यक्रम सञ्चालन गरिएको हो । बाह्य कक्षा कार्यक्रम भाग–२ अन्तर्गत हाम्रा लोपोन्मुख साथीहरु विषयक अभिमुखीकरणमा विद्यार्थीहरुले सक्रिय सहभागिता जनाएका थिए ।
वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको ढोक्प्या लर्निङ ग्राउण्ड्सका कर्मचारी हिन्डुक्पा शेर्पाले जानकारी दिनुभयो । अभिमुखीकरणमा वातावरणसम्बन्धी वर्तमान अवस्था, चुनौती, सम्भवाना र भूमिकाबारे डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत प्रमेश्वर पासवान र सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघका अध्यक्ष सुरज ओझाले प्रशिक्षण दिनुभएको थियो ।
आयोजक ढोक्प्या लर्निङ ग्राउण्ड्सका अनुसार केटिके बेल्ट नामक संस्थाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । अभिमुखीकरण कार्यक्रम बाल्देन माविमा बिहीबार सञ्चालन गरिएको हो ।