|

उपमेयर कप महिला फुटबलको खेल तालिका सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २४ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रबारदेखि हुने दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । फुङ्लिङ नगरपालिकाको आयोजनामा हुने अन्तर–पालिकास्तरीय उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।
नगरपालिकाले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार जिल्लाका आठ स्थानीय तहले सहभागिता जनाउने भएका छन् । शुक्रबार हुने उद्घाटन अर्थात पहिलो खेल आयोजक फुङ्लिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाबीच हुने छ । यस्तै दोस्रो खेल शनिबार बिहान मेरिङ्देन गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकाबीच हुने छ ।
शनिबार नै तेस्रो खेल पाथीभरा याङ्वरक र मिक्वाखोला गाउँपालिका तथा चौंथो खेल आठराई त्रिबेणी र सिरिजंघा गाउँपालिकाबीच हुने भएको छ । सेमिफाइनल चरणका खेलहरु भने आइतबार बिहान ११ बजे र दिउँसो २ बजे सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । फागुन २८ गते सोमबार फाइनल खेलसँगै प्रतियोगिता सम्पन्न हुने छ ।
यता प्रतियोगिताका विजेताले ट्रफीसहित एक लाख ११ हजार १०० रुपैयाँ र उपविजेताले ५५ हजार ५०० रुपैयाँ राशीको नगद पुरस्कार पाउने छन् । त्यस्तै सेमिफाइनल पुग्ने दुई टोलीले पनि समान नौ–नौ हजार रुपैयाँ प्रोत्साहन रकम पाउने छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक एवम् फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts