| |

ताप्लेजुङमा निमावि तह स्थायी शिक्षकको पदस्थापन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १० । ताप्लेजुङमा पच्चीस जना स्थायी शिक्षकलाई विभिन्न स्थानीय तहमा पदस्थापन गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले शिक्षा विकास निर्देशनालय धनकुटाबाट सिफारिस भएर आएका निम्न माध्यमिक तहका शिक्षकलाई विभिन्न स्थानीय तहमा पदस्थापन गरेको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी सिफारिस भएका शिक्षकहरुलाई पदस्थापन गरिएको हो । ताप्लेजुङका लागि सिफारिस भएर आएका शिक्षक आफैँले रोजेको र योग्यता क्रमका आधारमा उहाँहरुलाई विभिन्न स्थानीय तहमा पदस्थापन गरिएको भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक र गणित/विज्ञान विषयका २५ जना स्थायी शिक्षकलाई फुङ्लिङ नगरपालिकाबाहेक जिल्लाका अन्य आठ स्थानीय तहमा पदस्थापन गरिएको हो । पदस्थापन भएकामध्ये सबैभन्दा बढी गणित/विज्ञान विषयका आठजना शिक्षक रहनुभएको छ । यस्तै गणित विषका सात जना, विज्ञानका छ जना, सामाजिक र अङ्ग्रेजी विषयका दुई–दुई जना रहनुभएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार पाथीभरा याङ्वरक र सिदिङ्वा गाउँपालिकामा पाँच–पाँच जना शिक्षकको पदस्थापन भएको छ । त्यस्तै आठराई त्रिबेणी गाउँपालिकामा चारजना, फक्ताङ्लुङ, सिरिजंघा र मेरिङ्देन गाउँपालिकामा तीन–तीनजना तथा मिक्वाखोला र मैवाखोला गाउँपालिकामा एक–एकजना शिक्षकको पदस्थापन भएको छ ।
यता पदस्थापन भएका शिक्षकलाई शुक्रबार नियुक्तीपत्र प्रदान गरिने समन्वय इकाइले जनाएको छ । स्थानीय तहहरुमा शिक्षकलाई पदस्थापन गर्ने इकाइले बिहीबार (आज) निर्णय गरेको पनि इकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts