कार्य सम्पादन मूल्याङ्कन नतिजामा मैवाखोला प्रदेशमै पहिलो,जिल्लाभरमा मिक्वाखोला पुछारमा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १० । कार्य सम्पादन मूल्याङ्कनको नतिजामा ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमै अब्बल देखिएको छ । कोशी प्रदेशका १ सय ३७ स्थानीय तहमध्ये मैवाखोला गाउँपालिका पहिलो भएको हो ।
ताप्लेजुङका ९ स्थानीय तहमध्ये मैवाखोलापछि सिरिजङ्गा गाउँपालिका अब्बल देखिएको छ । मैवाखोलाले ४८.३१ अंक प्राप्त गर्दा सिरिजङ्गालाई ४६.०३ अंक प्राप्त भएको छ । सिरिजङ्गा कोशी प्रदेशका स्थानीय तहमध्ये चौथो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्य सम्पादन मूल्याङ्कन २०७८ को दफा ७ को अधिनमा रही १६ वटा सूचकका आधारमा स्थानीय तहको कार्य सम्पादन नतिजा प्रकाशित गरेको हो ।
कार्य सम्पादन मूल्याङ्कनको नतिजा अनुसार जिल्लाभरीमा फुङलिङ नगरपालिका तेस्रो भएको छ । उसले ३८.११ अंक पाएको छ भने फक्ताङ्लुङ गाउँपालिकाले चौथो स्थानमा नाम लेखाउँदा ३६.६० अंक पाएको छ । पाँचौं भएको पाथीभरा याङ्वरक गाउँपालिकाले २९.३७ अंक पाएको छ भने छैटौं भएको मेरिङदेन गाउँपालिकाले २७.०३ अंक पाएको छ । सातौं भएको सिदिङ्वा गाउँपालिकाले २६.८६ अंक पाएको छ भने आठौं भएको आठराई त्रिबेणीले २३.९३ अंक पाएको छ । यस्तै जिल्लाभरमा सबैभन्दा पुछारमा रहेको मिक्वाखोला गाउँपालिकाले २२.४७ अंक पाएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नतिजा सार्वजनिक गरेको छ ।
सम्वन्धित स्थानीय तहले २०८० साल असार १० गते भित्र चालू आर्थिक बर्षको राजश्व र व्ययको अनुमान सम्वन्धित सभामा पेश गरे नगरेको, चालू आवको राजश्व र व्ययको अनुमान सम्वन्धित सभामा २०७९ साल असार मसान्त सम्ममा पारित गरे नगरेको,आव २०८१।८२ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण २०७९ पुस मसान्त भित्र अर्थ मन्त्रालयमा पेश गरे नगरेको सूचकलाई आधार मानेर प्राप्ताङ्क निर्धारण गरिएको छ ।
यस्तै २०७९।८० को बजेट कार्यान्वयनको बार्षिक समिक्षा गरी तत् सम्वन्धी विवरण २०७९ साल कात्तिक मसान्त भित्र सार्वजनिक गरे नगरेको,२०७९।८० को विनियोजित रकम अनुसारको खर्चको अवस्था,सो आवको लेखा परीक्षणबाट औंल्याएको बेरुजुको अवस्था,स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली(सूत्र) प्रयोग गरे नगरेको,आवधि योजना तर्जुमा गरे नगरेको,शैक्षिक सत्र २०८० मा कक्षा १ देखि ८ सम्मको खुद बिद्यार्थी भर्ना दर समेतलाई मूल्याङ्कनको आधार बनाईएको छ ।
शैक्षिक सत्र २०७९ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा बिद्यार्थी टिकाउ दर,शैक्षिक सत्र २०७९ मा सामुदायिक बिद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कूल बिद्यार्थी संख्याको तुलनामा कम्तिमा स्तरीकृत अंक(जिपिए) १.६ वा सो भन्दा उच्च स्तरीकृत अंक प्राप्त गरेका बिद्यार्थीको प्रतिशत,आर्थिक बर्ष २०७९।८० मा ४ पटक गर्भजाँच गर्ने महिलाको अनुपात,सोहि आर्थिक बर्षमा कूल गर्भवती महिलाको संख्यामध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात र पूर्ण खोप लगाएका बालबालिकाको अनुपात सहितका सूचकका आधारमा स्थानीय तहले प्राप्त गर्ने नतिजा निर्धारण गरिएको छ ।