ताप्लेजुङमा मनाइयो प्रजातन्त्र दिवस

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ७ । बिरामीलाई स्वास्थ्य लाभको कामना सहित फलफुल बितरण भण्डोत्तोलन,वृक्षरोपण र मैत्रीपूर्ण डोरी तान्ने प्रतियोगिता सहित ताप्लेजुङमा राष्ट्रिय प्रजातन्त्र दिवस २०८० मनाइएको छ ।

प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिको आयोजनामा दिवस मनाईएको हो । प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाका अनुसार ताप्लेजुङ अस्पतालमा उपचारार्थ भर्ना भएका १२ जना बिरामीलाई शीघ्र स्वास्थ्य लाभको कामना सहित फलफुल बितरण गरिएको छ ।

यस्तै जिसस परिसरमा वृक्षरोपण समेत गरिएको लामाले जानकारी दिनुभयो । जिसस प्रांगणमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन समेत गरिएको छ । जिसस प्रमुख लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,जिसस उपप्रमुख कृष्णप्रसाद लिङखिम र प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले संयुक्त रुपमा झण्डोत्तोलन गर्नु भएको थियो ।

प्रजातन्त्र दिवसकै अवसरमा भएको डोरी तान्ने प्रतियोगितामा महिलातर्फ प्रमुख जिल्ला अधिकारी पौडेलले नेतृत्व गरेको महिला टीम तथा पुरुषतर्फ जिल्ला प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बूले नेतृत्व गरेको टिम प्रथम भएको प्रतियोगिता संयोजक मणिशंकर पोमूले जानकारी दिनुभयो । डोरी तान्ने प्रतियोगिताका लागि पोमूको संयोजकत्वमा कोष नियन्त्रक गणेशप्रसाद पोखरेल तथा ताप्लेजुङ उद्योग बाणिज्य संघका महासचिव कमल लिम्बू सदस्य रहेको तीन सदस्यीय टोली गठन भएको थियो ।

पुरुषतर्फ तीन टीम सहभागी भएकोमा राजनीतिक दलको टिमलाई जनप्रतिनिधिको टिमले पराजित गरी फाइनल प्रवेश गरेकोमा ‘वाई’पाएर फाइनल प्रवेश गरेको डिएसपी लिम्बू नेतृत्वको टिमले जनप्रतिनिधिको टिमलाई पराजित गरी प्रथम भएको थियो । प्रजिअ ११ को टिमले नापी कार्यालय प्रमुख रजिता श्रेष्ठले नेतृत्व गरेको टिमलाई पराजित गरी प्रथम भयो । प्रथम हुने दुबै टिमले नगद १०–१० हजार रुपैयाँ प्राप्त गरे । बिजेता दुबै टिमले आफुले प्राप्त गरेको रकम आँखाका रोगीहरुप्रति सर्मपित गर्दै नेत्ररोगीहरुको आँखा उपचार तथा परीक्षणमा खर्च गर्नेगरी नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखालाई हस्तान्तरण गरेका छन् ।

प्रजिअ पौडेलले दुबै टोलीले प्राप्त गरेको पुरस्कार रकम नगद २० हजार रुपैयाँ नेपाल नेत्रज्योति संघ ताप्लेजुङ शाखाका उपसभापति तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीलाई हस्तान्तरण गर्नु भएको छ । अधिकारीले सो रकम नेत्र रोगीहरुको उपचार तथा परीक्षणमा खर्च गर्ने प्रतिबद्धता सहित रकम सहयोग गर्ने पुरस्कार प्राप्तकर्ता टोलीप्रति आभार व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा प्रजातन्त्र दिवस मूल समारोह समिति संयोजक तथा जिसस प्रमुख लामा,फुङलिङ नगरप्रमुख मादेन,जिसस उपप्रमुख लिङखिम र प्रमुख जिल्ला अधिकारी पौडेलले प्रजातन्त्र दिवसको महत्व र नागरिकको भूमिका बारे प्रष्ट्याउनु भएको थियो । २००७ सालको क्रान्ति सफल भएर १ सय ४ वर्षे लामो निरङ्कुश जहाँनियाँ राणा शासन अन्त्य भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts