स्थानीय समुदायका उचित माग सम्बोधन गरी पाथीभरामा केवलकार निर्माण हुनुपर्ने राश्वपाको मत

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन ४ । ताप्लेजुङ,फागुन ४ । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय समुदायसंग प्रत्यक्ष सरोकार राख्ने बिषयको उचित सम्बोधन सहित ताप्लेजुङको पाथीभरामा क्षेत्रमा केवलकार निर्माण गर्नुपर्ने मत प्रकट गरेको छ ।

पाथीभरा(मुकुम्लुङ)केवलकार प्रालिका संचालक रुद्र पौडेललाई ध्यानाकर्षण गराउदै राश्वपाले उठाएका बिषयमा प्रष्ट हुन कम्पनीलाई आग्रह समेत गरेको छ । राश्वपा कोशी प्रदेश समिति सदस्य तथा ताप्लेजुङ इञ्चार्ज वीरेन्द्र श्रेष्ठले स्थानीय समुदायसंग प्रत्यक्ष सरोकार राख्ने बिषयको उचित सम्बोधन सहित केवलकार निर्माण गर्नुपर्ने पार्टीको राय पाथीभरा(मुकुम्लुङ)केवलकार प्रालिसंग राखिएको जानकारी दिनुभयो । उहाँले केवलकार निर्माणका बिषयमा ताप्लेजुङका क्रियाशिल राजनीतिक दलले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो । एउटै राजनीतिक दलभित्र पनि केवलकारका बिषयमा फरक टिप्पणी हुने गरेको भन्दै श्रेष्ठले दलहरुले आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्नेपनि बताउनुभयो ।

केवलकार निर्माण कम्पनीका प्रतिनिधिसंगको छलफलमा राश्वपाले पाथीभराको माथिल्लो फेदीमा रहेको बस्ति व्यवस्थापन,केवलकार निर्माणमा हुने कूल लगानी र लाभाँस बितरण,परियोजना प्रभावित स्थानीय तहमा बितरण हुने रोयल्टी बाँडफाँडको प्रकृया,यसअघि केवलकार निर्माणको क्रममा अस्वभाविक मूल्य देखाई खरिद गरिएको जग्गा र त्यसले समग्र लगानी र लगानी सुरक्षण तथा प्रतिफल बितरणमा प्रभाव पार्ने वा नपार्नेमा आधिकारिक ब्यालेन्स सिट सहितको धारणा माग गरेको छ ।

यस्तै केवलकार निर्माणका क्रममा स्थानीय समुदायको लगानीको हिस्सा,केवलकार निर्माण र निर्माण पछि प्रयोग हुने जनशक्तिमा क्षमताका आधारमा अधिकतम् स्थानीय समुदायका सदस्यको उपयोग,निर्णायक तहमा स्थानीय समुदायको प्रतिनिधित्व,योजना सञ्चालनको पारदर्शीताको मूल्याङ्कन गर्ने संयन्त्र र वातावरणीय प्रभाव मूल्याङ्नको तथ्यांक सहितका बिषयमा कम्पनीले प्रष्ट धारणा सार्वजनिक गर्नुपर्ने र सर्व पक्ष सहमतिका साथ निर्माण अधि बढाउन राश्वपाको माग रहेको छ ।

पाथीभरा(मुकुम्लुङ)केवलकार प्रालिले ताप्लेजुङको पाथीभरा क्षेत्रको काफ्लेपाटीबाट पाथीभरा मन्दिरतर्फको २.७० किलोमिटर दुरीमा केवलकार निर्माण गर्नेगरी सरकारबाट स्वीकृति पाएको छ । केवलकारको अनुमानित लागत २ अर्ब ५० करोड देखि ३ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ । केवलकार निर्माण गर्न हुने र नहुने पक्षमा मत आइरहँदा राश्वपाले भने आफ्नो आधिकारिक धारणा निर्माण कम्पनीसंग राखेको हो ।
केवलकार निर्माण कम्पनीसंग आफ्नो पार्टीको आधिकारिक धारणा राख्दै ताप्लेजुङ राश्वपाको टोली ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts