|

फक्ताङ्लुङ गाउँपालिकामा घर बनाउन नक्सा पास अनिवार्य

अरुलाई पनि शेयर गरौ !

-अनिता पन्दाक
ताप्लेजुङ, फागुन १ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा घर संरचना निर्माण गर्नुपर्दा अनिवार्य नक्सा पास गर्नुपर्ने भएको छ । जिल्लाकै बिकट तथा दुर्गम क्षेत्रअन्तर्गत पर्ने फक्ताङ्लुङ गाउँपालिकामा नक्सा पास गराएर मात्र घर, टहरा तथा भवन निर्माण गर्नुपर्ने भएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, घर निर्माण तथा सडकसम्बन्धी व्यवस्थाको आधारमा नक्सा पास कार्यविधि २०८० जारी गर्दै गाउँपालिकाभित्र घर संरचना निर्माण गर्न अनिवार्य नक्सा पास गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेले सार्वजनिक सूचना जारी गर्दै घर संरचना बनाउँदा अनिवार्य नक्सा पास गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
उहाँले नक्सा पास नगराई घर संरचना निर्माण गरेमा कारबाही हुने पनि उल्लेख गर्नुभएको छ । सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गा कब्जा गरेर घर निर्माण नगर्न पनि गाउँपालिकाले आग्रह गरेको छ । निजी जग्गाबाहेकमा घर निर्माण गरे कानुनबमोजिम कारबाही हुने पनि गाउँपालिकाले सचेत गराएको छ ।
गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)का अनुसार भौगोलिक विकटता, बाढी पहिरो, आगलागी र भूकम्पीय जोखिमलाई दृष्टिगत गरी घर नक्सा पास कार्यविधि निर्माण गरिएको हो । कार्यविधिअनुसार पालिकावासीले घर तथा व्यापारिक संरचना निर्माण गर्दा अनिवार्य नक्सा पास गर्नुपर्ने भएको अध्यक्ष लिम्बूले बताउनुभयो ।
हालसम्म ग्रामीण भेगमा सरकारी भवन तथा संरचना निर्माण गर्दा मात्र नक्सा पास गर्ने गरिएकोमा अबदेखि निजी घर संरचना बनाउँदा अनिवार्य नक्सा पास गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको नक्सा पास कार्यविधिविपरीत घर तथा संरचना निर्माण गरेमा कानुनी कारबाही बेहोर्न र साथै पालिकाबाट प्रवाह हुने सेवा सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था हुनसक्ने जनाइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts