| |

पाथीभरा केबलकार निर्माणको कामलाई अघि बढाइने

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २९ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको पाथीभरा केबलकारको कामलाई अघि बढाइने भएको छ । जिल्ला समन्वय समिति ताप्लेजुङको समन्वयमा सोमबार बसेको सर्वपक्षीय बैठकले केबलकार निर्माणको कामलाई अघि बढाउने निर्णय गरेको हो ।
पाथीभरा केबलकार निर्माणको काम अघि बढाउने निर्णय भने एकपक्षीय भएको छ । केबलकार परियोजनाविरुद्ध संघर्षरत रहेका पक्षसमेत सहभागी भए पनि निस्कर्षमा नपुगी उहाँहरुले बैठक छोडेर हिँडेपछि एकपक्षीय निर्णय भएको हो । परियोजनाको विरोध गर्दै आएका पक्षका प्रतिनिधिले केबलकार निर्माण गर्न नहुने कुरा दोहो¥याउँदै बैठक छोडेर निस्केका थिए ।
केबलकार परियोजनाविरुद्ध संघर्षरत पक्षसँग वार्ता गर्न बनेको वार्ता समितिका संयोजकसमेत रहनुभएका जिल्ला समन्वय समिति प्रमुख लामाले उहाँहरुको अवरोध रहे पनि कामलाई अघि बढाउने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार संघर्षरत पक्ष बैठक छोडेर निस्केपनि उहाँहरुसँग वार्ता र सम्वादलाई निरन्तरता दिँदै निर्माणको कामलाई अघि बढाउने निर्णय भएको हो ।
संघर्षरत पक्षका नेतृत्वसँग सहमतिको विन्दु खोजेर समस्या समाधान गर्नुपर्छ भनेर आफूले निरन्तर समन्वय गरिरहेपनि समाधानका विषयमा उहाँहरुले तत्परता नदेखाएको प्रमुख लामाले बताउनुभयो । उहाँले विरोध मात्र गरेर कुनै उपलब्धी नहुने भएकाले वार्ता तथा सम्वादबाटै समस्याको समाधान खोज्नुपर्ने र यसका संघर्षरत पक्षलाई जिम्मेवार हुन आग्रह पनि गर्नुभयो ।
यता केबलकार परियोजनाविरुद्ध संघर्षरत रहेको मुक्कुम्लुङ संयुक्त संघर्ष समिति र केबलकार परियोजना खारेजी संघर्ष समितिले पाथीभरा क्षेत्रको माथिल्लो फेदीभन्दा माथि केबलकार बन्न नहुने सुरुकै अडान दोहो¥याइरहेका छन् । लिम्बू समुदाय तथा आदिवासीहरु ऐतिहासिक मुन्धुमी (धार्मिक) स्थल पाथीभरा मुक्कुमलुङ भएकाले यहाँ केबलकारलगायत कुनैपनि संरचना बन्न नहुने अडान संघर्षरत पक्षले राख्दै आएका छन् ।
सोमबारको बैठकमा पनि संघर्षरत पक्षका प्रतिनिधिहरु सुरुदेखिको अडान कायम रहेको आफ्नो कुरा राख्दै बाहिरिनुभएको थियो । त्यस्तै केबलकार निर्माणविरुद्ध जनता समाजवादी पार्टी नेपालसहित स्थानीय छ राजनीतिक दल पनि एकठाउँ बनेका छन् । पाथीभरा पवित्र धार्मिक तथा ऐतिहासिक साँस्कृतिक स्थल भएकाले यहाँ केबलकार निर्माण गर्न नहुने भन्दै सोमबार नै संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् ।
उक्त दलहरुले प्रकाशित गरेको विज्ञप्तिमा केबलकार निर्माण प्रक्रिया सुरु गर्नु धार्मिकस्थल साथै आदिवादीहरुको मौलिक पहिचानमाथि अतिक्रमण र हस्तक्षेप भएको उल्लेख गरेका छन् । त्यस्तै परियोजनाको प्रक्रिया सुरु गर्दैदेखि गलत नियत राखेको पाइएकाले परियोजनाको विरोध गर्नुपरेको पनि विज्ञप्तिमा जनाइएको छ । केबलकार परियोजना कार्यान्यवन गर्ने प्रक्रियासँगै जग्गा खरिद प्रकरण र पछिल्लो पटक सशस्त्र प्रहरी बलको बेस क्याम्प राख्ने विषय असह्य हुने उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
केबलकार निर्माणविरुद्ध संयुक्त विज्ञप्ति निकाल्नेमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी मोर्चा र लिम्बुवान क्रान्तिकारी पार्टी रहेका छन् । जिल्ला समन्वय समितिले आह्वान गरेको सोमबारको बैठकमा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षसमेत रहनुभएका चन्द्रप्रसाद ढकालको नेतृत्वमा पाथीभरा मुक्कुमलुङ दर्शन केबलकार प्रालिले परियोजना निर्माण गर्नका गर्न लागेको हो । कार्यान्वयनको चरण सुरु गर्नेगरी केबलकार निर्माणका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको प्रालिले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts