| |

दोभान आँखा उपचार केन्द्रको भवन निर्माण सम्पन्न

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २६ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभानमा सञ्चालित आँखा उपचार केन्द्रको आफ्नै भवन निर्माण गरिएको छ ।
कोशी प्रदेश सरकारको बजेटबाट आँखा उपचार केन्द्र भवन निर्माण गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले बताउनुभयो । उहाँकाअनुसार सहरी विकास तथा भवन कार्यालय इलाममार्फत भ्याटसहित कुल ९७ लाख ८१ हजार १०६ रुपियाँको लागतमा भवन निर्माण गरिएको हो । उक्त बजेटबाट पपैया कन्स्ट्रक्सन फुङ्लिङ, ताप्लेजुङले निर्माणको काम सम्पन्न गरी  बिहीबार नेपाल नेत्रज्योति संघ जिल्ला शाखालाई हस्तान्तरण भएको छ ।

दोभान आँखा उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) र नेत्रज्योति संघ शाखाका पदाधिकारीको उपस्थितिमा सहरी विकास तथा भवन निर्माण कार्यालय ईलामका सव इञ्जिनियर रितेश यादवले नेत्रज्योति संघ ताप्लेजुङका सभापति गुरुङलाई भवनको तालाचावी हस्तान्तरण गर्नु भएको नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

दोभान आँखा उपचार केन्द्रले अहिले सम्म कोठा भाडामा लिएर सेवा प्रदान गर्दै आइरहेको छ । मेरिङदेन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको आर्थिक साझेदारीमा २०७८ साल साउन २ गतेबाट दोभानमा आँखा उपचार केन्द्र सञ्चालनमा छ ।
सभापति गुरुङका अनुसार दुईतले नवनिर्मित भवनका प्रत्येक तल्लामा पाँचवटा कोठा रहेका छन् ।

भवन निर्माण सम्पन्न भएसँगै हस्तान्तरण भएपछि औपचारिक उद्घाटन गरी नवनिर्मित भवनबाटै आँखा उपचार केन्द्रको सेवा सुरु गर्ने योजना रहेको गुरुङले जानकारी दिनुभयो । नेत्रज्योति संघले दोभानमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएपछि उक्त दुई गाउँपालिकासहित त्यस क्षेत्रको मैवाखोला र मिक्वाखोला गाउँपालिकाका बासिन्दाले समेत सेवा पाउँदै आएका छन् ।

नेपाल नेत्रज्योति संघ शाखाद्वारा सञ्चालित सदरमुकाम फुङ्लिङमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र रहेको छ । ताप्लेजुङ शाखाकै अगुवाइमा पाँचथरको कुम्मायक गाउँपालिकाको प्रशासकीय केन्द्र यासोक र याङ्वरक गाउँपालिकाको प्रशासकीय केन्द्र थर्पुमा पनि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।

Similar Posts