यसबर्षको ताप्लेजुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड आठराई त्रिबेणीको फुलवारीमा हुने,६६ स्वर्णमा प्रतिश्पर्धा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २२ । ताप्लेजुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसबर्ष आठराई त्रिबेणी गाउँपालिकामा फागुन एकगतेबाट सुरु हुने भएको छ ।

संयोजनकारी स्थानीय तह आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)को उपस्थितिमा आयोजक जिल्ला खेलकुद विकास समितिले सोमवार पत्रकार सम्मेलनमार्फत फागुन एकदेखि चारगतेसम्म दुर्गा मावि फुलवारीस्थित महभीर खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र मावो(गणेश)का अनुसार ६ वटा खेलमा ६६ स्वर्ण,६६ रजत र ७० कास्यका लागि नौ स्थानीय तहका बिद्यालयबीच प्रतिश्पर्धा हुने भएको छ । यहाँका स्थानीय तहले यसअघि नै बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरी जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडीहरु छनौट गरिसकेका छन् ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलका अनुसार भलिबल,कवड्डी,एथलेटिक्स,सितेरियो,तेक्वादो र उसुखेलमा छात्रछात्रा दुबैतर्फ स्पर्धा हुने छ । भलिबल र कवड्डी खेलमा बिजेता र उपबिजेता बाहेक सेमीफाईनल पुग्ने दुईटोलीले समेत कास्य पदक पाउने भएकोले कास्य पदकको संख्या स्वर्ण र रजत भन्दा चारले बढी हुने समेत जिल्ला खेलकुद विकास समितिले जनाएको छ । एक स्थानीय तहबाट खेलाडी,अफिसियल र व्यवस्थापक सहित एकसयजना सहभागी हुने र नौ पालिकाबाट कम्तिमा नौसय जना सहभागी हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जिल्ला स्तरीय प्रतियोगिताबाट प्रदेश स्तरीय प्रतियोगिताका लागि एकसय जना खेलाडी चयन हुने भएका छन् ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पौडेलका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिव १९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको संयोजनकर्ता आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष पोमूले स्थानीय क्षेत्रका खेलप्रतिभाको पहिचान तथा सम्मानका लागि यसपटक आठराई त्रिबेणी गाउँपालिका जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजनकर्ता बनेको बताउनुभयो । जिल्ला खेलकुद विकास समिति अध्यक्ष मावोले बिद्यालयमा स्वस्थ्य र प्रतिश्पर्धात्मक बिद्यार्थीमैत्री खेलकुद वातावरणको सृजना गर्न तथा बिद्यालयतहबाटै खेल प्रतिभाको पहिचान र सम्मानका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts