ताप्लेजुङको भानुजन माविले स्थापनाको ७५ औं बार्षिक उत्सव मनाउँदै,आठवटा क्षेत्रमा सहयोगको आवह्वान

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १४ । फागुन २ गतेबाट स्थापनाको ७५ औं बार्षिक उत्सव मनाउने तयारीमा रहेको ताप्लेजुङ सदरमुकामस्थित भानुजन माविले नमूना बिद्यालयको उज्जवल भविष्यका लागि आठवटा क्षेत्रमा सहयोगको आवह्वान गरको छ ।

सरकारी अनुदानबाट मात्र बिद्यालयलाई ‘नमूना’को रुपमा कायम राख्न नसकिने बताउँदै बिद्यालयले दातृ निकाय र व्यक्तिहरुलाई सहयोगका लागि आवह्वान गरको हो । ७५ औं स्थापना दिवस (फागुन २–४)का बारेमा जानकारी दिन आइतवार बिद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उन्नत शिक्षण सिकाईका लायि पर्याप्त कक्षाकोठा,आधुनिक विज्ञान प्रयोगशाला,पुस्तकालय सहितको खाँचो औंल्याईएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष युगराज गुरुङको उपस्थितिमा प्रधानाध्यापक किशोरकुमार राईले सहयोगका आठवटा क्षेत्रमा सहयोगका लागि आवह्वान गर्नु भएको हो । राईका अनुसार छात्रावास,आधुनिक विज्ञान प्रयोगशाला,सुविधायुक्त पुस्तकालय,शिक्षक भवन,खानेपानी तथा शौचालय,सुविधायुक्त चमेना गृह,म्युजियम र स्वास्थ्य भवनलाई आवश्यकताको पहिलो प्राथमिकतामा राखिएको छ । यस्तै सुन्दर बगैंचा,संगित सामग्रीको थप व्यवस्था,संगित तथा नृत्य हल,सभाहल,बिद्यालयहाता घेरावारा,छात्रावास र पर्याप्त कक्षाकोठा सहितको व्यवस्थापन गर्न सकेमा प्रभावकारी सिकाईको आधार तयार हुने बिद्यालयको बुझाई छ ।

बिद्यालयमा जग्गा खरिद सहित बहुउद्देश्यीय कर्भडहल निर्माणको प्रकृया अघि बढेको बताउँदै बिद्यालयले अधिकाँस शैक्षिक गतिविधिलाई ‘डिजिटलाईजेसन’गर्दै लगिएको बताएको छ । शैक्षिक सत्र २०७५।७६ देखि संघीय सरकारले नमूना बिद्यालयको रुपमा छनौट गरी सोहि अनुसार पूर्वाधार विकासका कार्यहरु अघि बढेपनि त्यो बिद्यालयका लागि पर्याप्त भई नसकेको भन्दै बिद्यालयले थप कार्यका लागि सहयोगका क्षेत्र पहिचान गरेको जनाएको छ । बिक्रम् सम्वत २००६ सालमा स्थापना भएको बिद्यालयमा अहिले २ हजार ५९ जना बिद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षक र कर्मचारी गरी ५४ जना जनशक्ति कार्यरत रहेको बिद्यालयले जनाएको छ । शिक्षा,व्यवस्थापन,कम्प्युटर,विज्ञान,सिभिल इञ्जिनियरिङ,संगीत,आईटी,खेलकुद ,पर्यटक पथप्रदर्शक तालिम लगायतका बिषय बिद्यालयको अध्ययनका क्षेत्रको रुपमा रहेको बिद्यालयले जनाएको छ ।

तीनदिन मनाईने ७५ औं स्थापना दिवसको पहिलो दिन फागुन २ गते सरस्वती पूजा,फुङलिङ नगरपालिकाका माध्यमिक बिद्यालय स्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता सहित उद्घाटन कार्यक्रम हुने भएको छ । दोस्रो दिन ३ गते भलिबल प्रतियोगिताको निरन्तरता सहित नगरपालिकाका माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन हुने छ । यस्तै अन्तिम दिन ४ गते पुरस्कार तथा सम्मानपत्र बितरण सहितका कार्यक्रम हुने भएका छन् । बार्षिक उत्सव कार्यक्रमका तीनैदिन सांस्कृतिक कार्यक्रम हुने छन् । बिद्यालयका पूर्व प्रधानाध्यापक,पूर्व शिक्षक,बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु,चन्दादाता र जग्गादातालाई बिद्यालयले सम्मान गर्ने कार्यक्रम तय गरेको जनाएको छ । बार्षिक उत्सव मनाउन विव्यस अध्यक्ष गुरुङको संयोजकत्वमा ३ सय १ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय कार्य व्यवस्थापन समिति बनेको र कामलाई तीव्रता दिन थालिएको समेत बिद्यालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

Similar Posts