ताप्लेजुङ अदालतले छ महिनामा गर्यो ४० प्रतिशत मुद्दा फस्र्यौट,डीसीएम प्रणालीले सेवाग्राहीलाई सजिलो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १० । जिल्ला अदालत ताप्लेजुङले चालू आर्थिक बर्षको छ महिनाको अवधिमा ४० प्रतिशत मुद्दा फस्र्यौट गरेको छ ।

अदालतका श्रेष्तेदार बिजय बरालका अनुसार चालू आर्थिक बर्षमा नयाँ लगत दर्ता भएका १ सय ६७ तथा गत आवबाट जिम्मेवारी सरी आएका १ सय ४० गरी पुस मसान्त सम्ममा ३ सय ११ थान मुद्दा रहेका छन् । ति मध्ये १ सय २७ थान मुद्दा फस्र्यौट भएको बरालले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ लगतका १ सय ७१ थान मुद्दामध्ये ७६ थान मुद्दाको फस्र्यौट सकिएको छ । नयाँ लगतको रुपमा दर्ता भएकामध्ये १ सय ४ थान मुद्दाको कारवाही चलिरहेको छ । अदालतले नयाँ लगतको रुपमा दर्ता भएका ४० प्रतिशत मुद्दा फस्र्यौट गरेको छ । यस्तै जिम्मेवारी सरी आएका १ सय ४० थान मध्ये ४३ प्रतिशत अर्थात् ६० थान मुद्दाको फस्र्यौट गरेको अदालतले जनाएको छ । जिम्मेवारी सरी आएकामध्ये ८० थान मुद्दाको कारवाही चलिरहेको समेत अदालतले जानकारी दिएको छ ।

अदालतमा अब दुईबर्ष नाघेको १ थान,६ महिना भित्रको १ सय ४ थान,६ महिना देखि एकबर्ष भित्रको ४६ थान,एकबर्ष देखि १८ महिना भित्रको २७ थान र १८ महिना देखि दुईबर्ष भित्रको ६ थान मुद्दा कारवाहीको क्रममा रहेका छन् । अदालतले पछिल्लो समय फरक प्रकृतिका मुद्दाको फरक व्यवस्थापन पद्दति (डिफरेनसियटेड केस म्यानेजमेन्ट)डीसीएम प्रणाली अपनाउँदै आएका छन् । प्रत्येक मुद्दाको प्रकृतिअनुसार तिनिहरुको कामकारबाहीलाई पनि फरकफरक तरिकाले व्यवस्थापन गर्नुपर्दछ भन्ने अवधारणा नै डीसीएम हो । यो पूर्णतयाः कम्प्युटर सफ्टवेयरमा आधारित प्रणाली हो । ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीस निर्मला योङ्याका अनुसार यस पद्दतिमा मुद्दाको कारबाही र किनारा गर्न विभिन्न ‘मार्गसमूह’ तोकिनुका साथै निश्चित ‘कार्यतालिका’ पनि तय गरिन्छ ।

नयाँ दर्ता हुने मुद्दालाई मुद्दाको प्रकृति अनुसार सामान्य, सरल र बिशेष गरी तीन समूहमा विभाजन गरिन्छ । शुरूमा अदालत प्रवेश गरेको मुद्दाको मार्गसमूह तोक्ने कार्य अदालतको दायरी (मुद्दा दर्ता) शाखाबाट हुने गर्दछ । कुन मुद्दालाई कुन मार्गसमूहमा राख्ने भन्ने विषय निर्धारित विवरण सफ्टवेयरमा प्रविष्टि गरिसकेपछि सफ्टवेयरले जानकारी दिन्छ भने सोही अनुसारको मार्गसमूह निर्धारण गर्नुपर्ने हुन्छ । यसका साथै मार्गसमूह अनुसार सोको कारबाहीको लागि आवश्यक कार्यतालिका निर्माण गर्ने काम पनि कम्प्युटर सफ्टवेयरबाट नै हुने गरेको न्यायाधीस योङ्याले बताउनुभयो । सरल मार्ग समूहका मुद्दा फस्र्यौट गर्ने अधिकतम् अवधि ६ महिना र सामान्य मार्ग समूहका मुद्दा फस्र्याैट गर्ने अधिकतम् अवधि १२ महिना तोकिएको छ । त्यसैगरी विशेष मार्ग समूहमा रहने मुद्दाहरुको फस्र्यौट गर्ने अधिकतम् अवधि भने १८ महिना तोकिएको छ ।

सामान्यतया २ थानसम्म लगाउ भएका शुरु मुद्दाहरु र २ जनासम्म प्रतिवादीहरू भएका अन्य शुरु मुद्दा सरल मुद्दामा पर्छन् । ३ देखि १० जनासम्म प्रतिवादी भएका र सरल मार्गसमूहमा रहने बाहेकका ३ देखि १० थानसम्म लगाउ भएका मुद्दा सामान्य मार्गमा पर्छन् । १० जनाभन्दा बढी प्रतिवादी भएका र सरल र सामान्य मार्गसमूहमा रहने बाहेकका १० थानभन्दा बढी लगाउ भएका मुद्दा बिशेष मार्गमा पर्ने गरेका छन् । अपवाद बाहेक डीसीएम लागू भएसँगै सेवाग्राहीले दर्ता भएको आफ्नो मुद्दामा फैसला कहिले हुन्छ भनेर पहिला नै अनुमान गर्न सक्ने अदालतका श्रेष्तेदार बराल बताउँनुहुन्छ । बरालका अनुसार ताप्लेजुङ अदालतमा २ सय ४३ थान सरल,४९ थान सामान्य र १९ थान बिशेष प्रकृतिका मुद्दा रहेका छन् । अदालतले २ सय ४३ थान सरल मुद्दामध्ये चालू आवमा १ सय ९ थान फस्र्यौट गरेको छ । यस्तै १६ थान सामान्य प्रकृतिका र २ थान बिशेष प्रकृतिका मुद्दा फस्र्यौट गरेको समेत अदालतले जानकारी दिएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts