ताप्लेजुङ प्रशासन कार्यालयबाट तीनजनाले पाए गैर आवासीय नेपाली नागरिकता

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ९ । ताप्लेजुङबाट अहिले सम्म तीनजनाले गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रमेशप्रसाद सिग्देलका अनुसार ताप्लेजुङबाट अहिले सम्म तीनवटा गैर आवासीय नेपाली नागरिकता जारी भएका छन् । जस अनुसार नर्बे बस्दै आउनु भएका आठराई त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिनका बिशालकुमार सिटौलाले ताप्लेजुङ प्रशासन कार्यालयबाट पहिलो गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्नु भएको थियो । दोस्रोमा संयुक्त अधिराज्य बस्ने मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्राका सविता लिम्बू र तेस्रोमा अष्ट्रेलिया बस्ने फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाका टाँसी लामा शेर्पाले गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्नु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सम्वन्धित वडाको सिफारिस सहितको निबेदन,नेपाली नागरिकता त्याग गरेको प्रमाण÷नेपाली नागरिकताको प्रमाणपत्र,बिदेशी मुलुकको नागरिकता÷नागरिक भएको प्रमाण,सार्क सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको प्रमाण,हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि सहितका कागजात पेश गरेको खण्डमा सम्वन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुन सक्ने व्यवस्था रहेको छ । गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको छ ।

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली,२०८० लागु भएपछि गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था सुरु भएको हो । सोहि अनुसार प्रकृया पुगेकाहरुलाई गैर आवासीय नेपाली नागरिकता प्रदान हुँदै आएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठमा नागरिकता सम्बन्धी संशोधन ऐन प्रमाणीकरण तथा भदौमा मन्त्रिपरिषद्ले नियमावली पारित गरेपछि गैर आवासीय नेपालीलाई नागरिकता लिने बाटो खुलेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts