कार्य सम्पादनहरुको संस्थागत क्षमता स्वमूल्याङ्कनमा सिदिङ्वाले आफुलाई दियो ५४.२५ प्रतिशत अंक

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ८ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले बार्षिक कार्य सम्पादनहरुको संस्थागत क्षमता स्वमूल्याङ्कनमा आफुलाई ५४.२५ प्रतिशत नतिजा प्राप्त भएको सूची सार्वजनिक गरेको छ ।

सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थमाया राईका अनुसार १० वटा बिषयगत क्षेत्रको सूचक अनुसार स्वमूल्याङ्कन(आफुले कार्य सम्पादन गरेका बिषयमा आफैंले गरेको मूल्याङ्कन) मा ५४.२५ प्रतिशत अंक प्राप्त भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ को अधिनमा रही पालिकाले १० वटा बिषय क्षेत्रको सूचक अनुसार स्वमूल्याङ्कन गरी नतिजा प्रकाशन गरेको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत राईका अनुसार ९ पूर्णाङ्कको शासकीय प्रवन्ध सूचकमा ८८.८९ प्रतिशत अर्थात् ८ अंक प्राप्त भएको छ । यस्तै ८ पूर्णाङ्कको संगठन तथा प्रशासन ५६.२५ प्रतिशत अर्थात् ४.५ अंक प्राप्त भएको छ । यस्तै ११ पूर्णाङ्कको बार्षिक बजेट तथा योजना व्यवस्थापनमा ६८.१८ प्रतिशत अर्थात् ७.५ अंक र ११ पूर्णाङ्ककै वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ८.७५ अंक अर्थात् ७९.५५ प्रतिशत नतिजा प्राप्त भएको पालिकाले जनाएको छ ।

पालिकाले १६ अंकको सेवा प्रवाह सम्वन्धी सूचकमा ४८.४४ प्रतिशत अर्थात् ७.७५अंक दिएको छ । ७ अंकको न्यायिक कार्य सम्पादनमा ६४.२९ प्रतिशत अर्थात् ४.५ अंक दिएको पालिकाले १३ पूर्णाङ्कको भौतिक पूर्वाधार सम्वन्धी सूचकमा ५ अंक अर्थात् ३८.४६ प्रतिशत नतिजा दिएको छ ।

यस्तै १० पूर्णाङ्कको सामाजिक समावेशीकरणमा ३५ प्रतिशत अर्थात् ३.५ अंक दिएको छ भने ९ पूर्णाङ्कको वातावरण संरक्षण तथा बिपद् व्यवस्थापनमा ४४.४४ प्रतिशत अर्थात् ४ अंक दिएको छ । ६ पूर्णाङ्कको समन्वय र सहकार्य सूचकमा १२.५ प्रतिशत अर्थात् ०.७५ अंक दिएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन सम्वन्धी कार्यविधि २०७७ को परिच्छेद ३ मा स्वमूल्याङ्कनका प्रकृया र अंकभार सम्वन्धी व्यवस्था गरिएको छ । जस अनुसार स्वमूल्याङ्कनको नतिजा कार्यपालिकाबाट अनुमोदन गरी ७ दिन भित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts