ताप्लेजुङको मिक्वाखोलामा आए दुईथान एम्बुलेन्स,खोक्लिङ र साँवामा रहने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ५ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा पनि एम्बुलेन्स सेवा सुरु भएको छ ।
वडा नं ४ र ५ का सेवाग्राहीलाई सेवा पुग्ने गरी पालिकाको केन्द्र साँवा स्थित थलङ स्वास्थ्य चौकी र वडा नं १ र २ खोक्लिङ तथा वडा नं ३ लिवाङका सेवाग्राहीलाई सेवा पुग्नेगरी खोक्लिङ स्वास्थ्य चौकीमा एम्बुलेन्स रहने छन् । एम्बुलेन्स यिनै स्वास्थ्य संस्थामार्फत सञ्चालन हुने पालिकाले जनाएको छ । यो संगै पालिकामा आफ्नै एम्बुलेन्स नहुँदा अहिले सम्म बिरामीहरुले भोग्दै आएको समस्या हल हुने गाउँपालिकाले विश्वास लिएको छ ।
पालिकाको पहल तथा मध्य मेवा जलबिद्युत परियोजना र सानिमा मध्य तमोर जलबिद्युत योजनाको आर्थिक सहयोगमा पालिकाका दुईथान एम्बुलेन्स भित्रिएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार कार्यविधि बनाएर पालिकाका सेवाग्राहीलाई सहुलियत प्रदान हुने गरी सेवा प्रवाह गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिले एम्बुलेन्सको भाडा निर्धारण गर्छ । पालिकाहरुले बिभिन्न सहुलियत समेत दिएर एम्बुलेन्स सेवा प्रदान गर्दै आइरहेका छन् ।
जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिले नियमानुसार हुने राजश्व छुटमा एम्बुलेन्स खरिद प्रकृयाका लागि प्रादेशिक एम्बुलेन्स तथा व्यवस्थापन समिति समक्ष राय सहितको सिफारिस गर्ने गरेको छ । सोहि अनुसार प्रादेशिक समितिले अर्थ मन्त्रालय सहितका निकायहरुमा नियमानुसार हुने राजश्व छुटमा एम्बुलेन्स खरिद प्रकृयाका लागि गरेको सिफारिसका आधारमा राजश्व छुटमा एम्बुलेन्स खरिद हुने गरेको छ ।
सुरुमा प्रतिष्ठान सहितका निकायहरुलाई समेत जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयका आधारमा राजश्व छुटमा एम्बुलेन्स खरिदको र सिफारिस दिन सकिने प्रावधान भएपनि एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ ले अब स्वास्थ्य संस्थाहरुलाई मात्र यस्तो सुबिधा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ ।
पालिकाले कार्यपालिकाको निर्णयबाट कुन स्वास्थ्य संस्थामार्फत एम्बुलेन्स सञ्चालन गर्ने हो भन्ने स्पष्ट खुलाई पेश गरेका रीतपूर्वकका कागजातका आधारमा मात्र सिफारिस प्रकृयाको कारवाही हुने गरेको जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख योगराज घिमिरे बताउँनुहुन्छ ।