ताप्लेजुङमा ६७७ सवारी साधनलाई कारबाही

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ ५ । ताप्लेजुङमा ट्राफिक नियम उल्लंघन गर्ने छ सय सतहत्तर वटा सवारी साधन कारबाहीमा परेका छन् । पछिल्लो छ महिनाको अवधिभित्र उक्त सङ्ख्यामा विभिन्न सवारी साधान ट्राफिक नियम उल्लंघन गरेका कारण कारबाहीमा परेका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा कारबाही गरिएका सवारी साधनहरु अधिकांस जिप रहेका छन् । जिपपछि मोटरसाइकल र अन्य सवारी साधन कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी साधनको कागजात नबोक्ने, लापरबाही चलाउनेजस्ता ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरुलाई कारबाही गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) दीपक न्यौपानेका अनुसार कारबाहीमा परेका सवारी साधनका चालकलाई न्युनतम् ५०० देखि अधिकृतम् एक हजार ५०० रुपियाँसम्म जरिवाना गर्ने गरिएको छ । यस अवधिमा सवारी कारबाही र जरिवानाबाट तीन लाख ९६ हजार रुपियाँ राजस्व संकलन भएको पनि उहाँले जानकारी दिनुभयो ।
यस्तै छ महिनाको अवधिमा ताप्लेजुङमा १५ वटा सवारी दुर्घटना भएका छन् । ट्रक, जिप, ट्रयाक्टर, मोटरसाइकल, जेसिभी मेसिनजस्ता सवारी साधन दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ । उक्त सवारी दुर्घटनामा परी एकजनाले ज्यान गुमाएका छन् भने २७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजना गम्भीर र बाँकी २२ जना सामान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक रहेको छ ।