|

सोमवार योग दिवस र मंगलवार भूकम्प सुरक्षा दिवस मनाइने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २९ । ताप्लेजुङमा सोमवार योग दिवस र मंगलवार भूकम्प सुरक्षा दिवस मनाईने भएको छ ।

नवौं राष्ट्रिय योग दिवसको अवसर पारेर पतञ्जली योग समिति ताप्लेजुङको आयोजनामा सोमवार योगाभ्यास सहित कार्यक्रम हुन लागेको हो । पतञ्जली योग समिति ताप्लेजुङका अध्यक्ष सुष्मा शाक्यका अनुसार सोमवार बिहान ताप्लेजुङ उद्योग बाणिज्य संघको सभाहलमा कार्यक्रम राखिएको छ ।

बिहान साढे ६ बजे देखि साढे ७ बजे सम्म योगाभ्यास र त्यसपछि शुभकामना आदान–प्रदानको कार्यक्रम राखिएको शाक्यले जानकारी दिनुभयो । सोमवार माघे संक्रान्ति पर्व(कक्फेक्वा तङ्नाम) समेत भएकोले सो अवसरमा समेत शुभकामना आदान–प्रदानको कार्यक्रम राखिएको शाक्यले बताउनुभयो ।

यस्तै माघ २ गते मंगलवार राष्ट्रिय सुरक्षा दिवस मनाईने भएको छ । बिहान साढे ७ बजे वीरेन्द्रचौकमा भेला भई भूकम्प सुरक्षा सम्वन्धी जनचेतनामुलक प्रभातफेरी पछि भीमकाली गुल्मको प्रांगणमा भूकम्प सुरक्षा सम्वन्धी नमूनाअभ्यास शिक्षण (डेमोष्ट्रेशन)गरिने प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिनुभयो । जिल्ला बिपद् व्यवस्थापन समितिको संयोजनमा हुने नमूना शिक्षणमा नेपाली सेनाको भीमकाली गुल्म,जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका जनशक्तिमार्फत प्रर्दशन गर्ने बताईएको छ । रेडक्रस सहितका सामाजिक संघसंस्थाहरु नमूना अभ्यास शिक्षणमा सहभागी हुने भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts