फुङ्लिङका भूमिहीनलाई जग्गाको निस्सा वितरण
-प्रयास लिम्बू
ताप्लेजुङ, पुस २६ । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाका भूमिहीनलाई निस्सा वितरण गरिएको छ । वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई राष्ट्रिय भूमि आयोग जिल्ला समितिले बिहीबार निस्सा वितरण गरेको हो ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति र फुङ्लिङ नगरपालिकाले संयुक्त कार्यक्रमको आयोजना गरी नगरपालिकाभित्र रहेका भूमिहीन परिवारलाई जग्गाको निस्सा वितरण गरेको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष कृष्णकुमार बस्नेतका अनुसार बिहीबार फुङ्लिङ नगरपालिकाभित्रका ११७ जनालाई निस्सा वितरण गरिएको छ । निस्सा प्राप्त गर्नेमा भूमिही दलित ३६ जना, भूमिहीन सुकुम्बासी ७० र अव्यवस्थित बसोबासी ११ जना रहेका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
फुङ्लिङ नगरपालिकाका ११ वटै वडाका १७३ जनाले राष्ट्रिय भूमि आयोग जिल्ला समितिसमक्ष लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका थिए । निवेदन दिएकामध्ये प्रमाणीकरण भएका ११७ जना भूमिहीनलाई जिल्ला समन्वय समिति ताप्लेजुङका उपप्रमुख कृष्णप्रसाद लिङ्खिम, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन र राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष बस्नेतले निस्सा वितरण गर्नुभएको हो ।
जग्गा प्राप्तिका लागि निवेदन दिने ५६ जना भने प्रमाणीकरणमा नपरेका भूमि आयोग जिल्ला समितिले जनाएको छ । एकजना दलित, चारजना सुकुम्बासी र अन्य अव्यवस्थित परिवार माग दावीअनुसार प्रमाणीकरणमा पर्न अयोग्य ठहरिएका समितिले जानकारी दिएको छ । भूमिहीनको सङ्ख्या सबैभन्दा फुङ्लिङ नगरपालिका–३ मा २० परिवार र सबैभन्दा कम वडा ७ मा छ परिवार रहेका छन् ।
अब निस्सा पाएकाले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दावी प्रस्तुत गर्न पाउने भएका समितिका जिल्ला अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँकाअनुसार प्रमाणीकरणमा परी निस्सा पाएका परिवारले बजार क्षेत्रमा न्युनतम् चार आना र बजारबाहिर अर्थात ग्रामीण क्षेत्रका भूमिहीनले न्युनतम् एक रोपनीसम्म जग्गा प्राप्त गर्ने छन् । निस्सा पाएका भूमिहीनले सम्बन्धित वडा र पालिकामा जग्गा प्राप्त गर्ने र वडा तथा पालिकामा उपलब्ध नभएमा प्रदेश र सङ्घ सरकारसँग जग्गा मागदावी गर्न सक्ने पनि अध्यक्ष बस्नेतले बताउनुभयो ।
यता भूमिहीन रहेको प्रमाणीकरण भई निस्सा प्राप्त गरेकालाई जग्गा उपलब्ध गराउनका लागि सम्बन्धित वडाका वडाध्यक्षहरुलाई जग्गाको पहिचान गरी उपलब्ध गराउनेगरी तत्काल पहल सुरु गर्न नगरप्रमुख मादेनले निर्देशन दिनुभयो । यसरी फुङ्लिङ नगरपालिकाबाट सुरु भएको जग्गा प्राप्तिको निस्सा वितरणको काम क्रमशः अन्य स्थानीय तहमा पनि निरन्तरता दिइने राष्ट्रिय भूमि आयोग जिल्ला समितिले जनाएको छ ।