बिद्यालय शिक्षा बिधयेक जस्ताको तस्तै पारित हुन्न,लगानीकर्ता र शिक्षा सुधारको पक्षमा हुने छ ः भट्टराई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २४ । प्रतिनिधिसभाका सांसद तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले संस्थागत बिद्यालयको लगानी सुरक्षण र उचित व्यवस्थापनको बिषय नटुङ्ग्याई अर्को प्रकृयामा जान नसकिने बताउनु भएको छ । उहाँले बिद्यालय शिक्षा बिधयेक लगानीकर्ताको हित र बिद्यालय सुधारको पक्षमा हुने बताउनुभयो ।

स्थानीय तहले आफ्नो परिवेश र आवश्यकता अनुसार बनाउनुपर्ने बिद्यालय शिक्षा ऐन संघीय संसदले बनाउनुपर्दा त्यहाँ उत्पन्न हुने कानुनी र संबैधानिक जटिलताको बिषय के हो भनेर प्रश्न उठ्न थालेको उहाँको भनाई थियो । निजी तथा आवासीय बिद्यालयहरुको छाता संगठन प्याब्सनको ३३ औं स्थापना दिवसको अवसरमा प्याब्सन ताप्लेजुङद्धारा फुङलिङमा आयोजित कार्यक्रममा भट्टराईले सरोकारवालासंगको बृहत्त र एकिकृत छलफल बेगर बिद्यालय शिक्षा ऐन प्रस्तुत भएकोले सबैभन्दा धेरै शंसोधन प्रस्ताव समेत आएको बताउनुभयो । उहाँले अहिले सम्मको परिवेश हेर्दा प्रस्तुत ऐन जस्ताको तस्तै पारित हुने सम्भावना ज्यादै कम रहेको बताउनुभयो । सरोकारवालासंगको उचित राय र परार्मश बेगर ऐन तथा कार्यविधिका मस्यौदाहरु आउँदा यसमा बढी समय लाग्ने र शंसोधन समेत बढी गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

संस्थागत बिद्यालयहरुले बिद्यमान कानुन अनुसारनै बिगत ३० बर्ष बढी अवधि देखि शिक्षा क्षेत्रमा लगानी गरिरहेकोले त्यो लगानी सुरक्षित गर्ने उपाय नदेखाई बिकल्प खोज्न नहुने उहाँको भनाई थियो । राज्यले सामुदायिक बिद्यालयमा संस्थागत सुधार गर्नुपर्ने र सामुदायिक तथा संस्थागत बिद्यालयहरुका बीच नकारात्मक शैक्षिक प्रतिश्पर्धा हुन नदिई एकअर्काका अनुभव र सीप आदान–प्रदान हुनेगरीको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको भट्टराईको भनाई थियो । सामुदायिक र संस्थागत बिद्यालयबीच शैक्षिक गतिविधिमा सहयोग आदान–प्रदान गर्ने हो भने दुबैको शैक्षिक गुणस्तर थप प्रभावकारी हुने भट्टराईले बताउनुभयो । अहिलेको सबैभन्दा ठूलो चुनौति भनेकै शैक्षिक जनशक्तिको पलायन रहेको बताउँदै भट्टराईले कानुन बनाएर मात्र शैक्षिक जनशक्तिको पलायन रोक्न नसकिने टिप्पणी गर्नुभयो । शैक्षिक जनशक्तिको पलायन रोक्न शिक्षण संस्थाहरुमा बिश्वसनीयता समेत कायम हुनुपर्ने उहाँको भनाई थियो ।

अभिभावक शिक्षा सुधारको प्रमुख आधार भएकोले शिक्षाका हरेक प्रकृयामा अभिभावकको संलग्नता कायम गराउनु अनिवार्य रहेको भट्टराईले बताउनुभयो । देशको शैक्षिक अवस्थालाई प्रभावकारी र जवाफदेहि बनाउन सामुदायिक बिद्यालयहरुलाई संस्थागत बिद्यालयसंगको प्रतिश्पर्धी शक्तिको रुपमा विकास गर्नुपर्ने भट्टराईको भनाई रहेको छ । सम्भवत विश्वमै सबैभन्दा धेरै शंसोधन प्रस्ताव दर्ता भएको र बढी चर्चामा आएको बिषय नै बिद्यालय शिक्षा बिधयेक रहेको उहाँको दावी थियो । उहाँका अनुसार बिद्यालय शिक्षा बिधयेकमा १ हजार ७ सय ५८ वटा शंसोधन प्रस्ताव दर्ता भएका छन् ।

प्याब्सन ताप्लेजुङका अध्यक्ष गणेश सिग्देलका अनुसार ३३ औं स्थापना दिवसको अवसर पारेर जिल्ला प्याब्सनले लामो समय देखि शिक्षण सेवामा आवद्ध संस्थागत बिद्यालयका ४ शिक्षक र २०७९ सालको एसईई परीक्षामा जिल्ला प्रथम हुने बिद्यार्थीलाई सम्मानित गरेको छ । सम्मानित हुनेमा शिक्षकतर्फ ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलका कुमारी गुरुङ,ताप्लेजुङ सिद्धार्थ बोर्डिङ स्कुलका जानुका सुनुवार,कञ्चजंघा बोर्डिङ स्कुलका रिचा मेन्याङ्वो र मेची सेन्टमेरिजका करिश्मा लिम्बू तामाङ रहनु भएको छ । २०७९ सालको एसईई परीक्षामा जिल्ला प्रथम(३.८ जिपिए)हुने कञ्चनजंघा बोर्डिङ स्कुलकी युना गुरुङ समेत सम्मानित हुनु भएको छ ।

प्याब्सनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई,प्याब्सनका केन्द्रीय सदस्य दिनेश भट्टराई,नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,एमाले जिल्ला उपसचिव मणिशंकर पोमू,माओवादी केन्द्रका बमबहादुर भट्टराई,शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख योगेश्वर भट्टराई, फुङलिङ नगरपालिकाको सामाजिक विकास समिति संयोजक क्षितिज सुनुवार, फुङलिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेल,पाथीभरा बहुमुखी क्याम्पसका प्रमुख सजन पौडेल,नेपाल शिक्षक महासंघका शरदराज निरौला र पत्रकार महासंघका जिल्ला अध्यक्ष आनन्द गौतम सहितले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts