| |

मूल्यसूची र साइनबोर्ड नराखी व्यापार

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १८ । ताप्लेजुङको ग्रामीण क्षेत्रअन्तर्गतका बजारमा व्यापारीले मूल्यसूची नराखी सामान बिक्री गर्दै आएको पाइएको छ । बजार अनुगमनका क्रममा व्यापारीहरुले बिक्रीजन्य वस्तुको मूल्यसूची र व्यावसायिक साइनबोर्ड नराखी सामान बिक्री तथा व्यवसाय गर्दै आएको पाइएको हो ।
सदरमुकाम फुङ्लिङबाहिर ग्रामीण क्षेत्रअन्तर्गत फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिँवा तथा फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको मित्लुङ बजारका व्यापारीले मूल्यसूची र साइनबोर्ड नराखी व्यापार गर्दै आएको पाइएको छ । जिल्ला बजार अनुगमन समितिले गरेको बजार अनुगमनका क्रममा अधिकांस व्यापारीले बिक्रीजन्य वस्तुको मूल्यसूची र पसलको साइनबोर्ड नराखी व्यापार गर्दै आएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले जानकारी दिनुभयो ।
जिल्ला बजार अनुगमन समितिका संयोजकसमेत रहनुभएका सहायक प्रजिअ भट्टराईले मूल्यसूची, साइबोर्ड राख्नेलगायत कतिपय व्यापारीले व्यापार सञ्चालनका लागि न्युनतम् बैधानिक प्रक्रिया नै पुरा नगरी व्यापार गरिरहेका पाइएको बताउनुभयो । आधारभूत एवम् न्युनतम् प्रक्रिया पूरा नगरेका पसलहरुलाई बैधानिकता पूरा गर्न समय र आवश्यक सुझाव दिएको पनि उहाँले जानकारी दिनुभयो ।
यस्तै अवैध अर्थात प्रत्रिया पूरा नगरी पसल व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई दर्तालगायत प्रक्रिया पूरा गरेर मात्र व्यवसाय गर्न सुझाव दिइएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साइँले जानकारी दिनुभयो । व्यवसाय सञ्चालन गर्नका लागि स्थानीय तहसहितका निकायमा दर्ता गर्नुपर्ने लगायतका प्रक्रियाका बारेमा सम्बन्धित व्यवसायीलाई आवश्यक सल्लाहसमेत दिएको उहाँले बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयको समन्यवमा भएको अनुगमनका क्रममा म्याद गुज्रेका तथा अखाद्य वस्तुहरुसमेत फेला परेको बजार अनुगमन समितिले जनाएको छ । समितिले फेला परेको म्याद गुज्रेको र अखाद्य वस्तु जफत गरी नष्ट गरिएको पनि घरेलु कार्यालयका प्रमुख घोर्साइँले जानकारी दिनुभयो । उहाँका अनुसार सिँवा बजार र मित्लुङमा गरी करिव अढाइ दर्जन बढी पसलको अनुगमन गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts