| |

पाथीभराको भेटी रकम साढे आठ करोड रुपैयाँ

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, पुस १२ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा झण्डै साढे आठ करोड रुपियाँ भेटी रकम संककलन भएको छ । हालसम्म भक्तजनले चढाएको तथा दान गरेको उक्त रकम बराबर भेटी संकलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार मङ्सिर मसान्त सम्ममा कुल आठ करोड ४५ लाख ९४ हजार ३३६ रुपियाँ भेटी रकम संकलन भएको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले पछिल्लो दुई महिना अर्थात कात्तिक र मङ्सिर महिनामा मात्र ६८ लाख ११ हजार ११० रुपियाँ भेटी संकलन भएको बताउनुभयो ।
कुल सङ्कलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मङ्सिर मसान्त सम्ममा १० लाख ७० हजार ७८७ रुपियाँ खर्च भएको पनि हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम दुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा खर्च भएको छ । उहाँले खर्च कटाएर बाँकी आठ करोड ३५ लाख २३ हजार ५४८ रुपियाँ बैंकमा मौज्दात रहेको बताउनुभयो ।
समितिका अनुसार नेपाल बैंक लिमिटेड, लक्ष्मी सानराइज बैंक, सानिमा बैंक, प्रभु बैंक र एनएमवि बैंकका शाखामा रकम मौज्दात रहेको छ । उक्त बैंकहरुमा सञ्चालित मुद्दती खातामा छ करोड ८८ लाख रुपियाँ मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र दुई लाख ५२ हजार ४४० रुपियाँ रहेको समितिले जानकारी दिएको छ ।
भेटी रकमबाहेक पाथीभरामा भक्तजनले चढाएको १८६ तोला छ लाल सुन रहेको पनि समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक हाङ्बाङका अनुसार ८६ तोला ९३ लाल सुन सुद्ध अर्थात रिफाइन गरिएको रहेको छ भने बाँकी ९८ तोला ४१ लाल रिफाइन गरिएको सुन रहेको समितिका सदस्य एवम् सुनचाँदी व्यवस्थापन उपसमिति संयोजक शम्भुप्रसाद गौतमले जानकारी दिनुभयो ।
त्यस्तै हालसम्म रिफाइन नभएको चाँदी ९२ किलोग्राम ६५० ग्राम रहेको पनि समितिले जानकारी दिएको छ । अन्य धातुमा तामा छ हजार ५३९ किलोग्राम ७७५ ग्राम र विभिन्न धातुको घण्टी १६ हजार ३६८ किलोग्राम रहेको पनि समितिले जनाएको छ । भक्तजनले चढाएको सुन र चाँदीलाई चाँडै रिफाइन गरी बिक्रीसहित व्यवस्थापन गर्ने योजना रहेकोसमेत समितिले जानकारी दिएको छ ।
यता पाथीभराको थप प्रचारप्रसार र दर्शनार्थीका लागि देवीको दर्शनलाई सहज बनाउने कार्यमा पाथीभरा क्षेत्र विकास समिति निरन्तर लागिपरेको समिति अध्यक्ष रक्की थेबेले बताउनुभयो । अधिकतम् भक्तजन आउनेगरी दर्शन यात्रालाई अझ सहज बनाउने, भेटीपातीलाई थप व्यवस्थित गर्ने र सबैसामु पारदर्शी हुनेगरी समितिले योजना बनाएर काम गर्न सुरु गरेको पनि अध्यक्ष थेबेको भनाइ छ । समितिको दायित्यलाई प्रभावकारी बनाउन जनशक्ति तथा कार्यालय व्यवस्थापनको थप काम भइरहेको समितिले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts