फुङ्लिङले नगरपालिकाले दियो चासोक तङ्नामको विदा

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस ८ । ताप्लेजुङको सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाम (न्वागी पर्व) को विदा दिएको छ । लिम्बू समुदायको साँस्कृतिक चाड चासोक तङ्नाम मनाउन फुङ्लिङ नगरपालिकाले पुस ११ गते बुधबार एकदिन स्थानीय विदा दिएको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलद्वारा आइतबार प्रकाशित सूचनाअनुसार चासोक तङ्नामको अवसरमा फुङ्लिङमा प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएकाले स्थानीय विदा दिएको उल्लेख गरिएको छ । स्थानीय सार्वजनिक विदाका दिन फुङ्लिङ नगरपालिका, वडा कार्यालयहरुसहित नगरभित्रका स्वास्थ्य संस्था, विद्यालय र अन्य संघ/संस्थाहरु बन्द हुने छन् ।
बुधबार नगरपालिकाले स्थानीय विदा दिएसँगै अब फुङ्लिङ नगरपालिकामा तीन दिन लगातार सार्वजनिक विदा हुने भएको छ । सोमबार क्रिसमस डे र मङ्गलबार उधौली पर्व (चासोक तङ्नाम) को राष्ट्रिय अर्थात सार्वजनिक विदा हो ।
यता चासोक तङ्नामको अवसरमा चासोक तङ्नाम सञ्चालन समितिको आयोजनामा सदरमुकाम फुङ्लिङमा गत बुधबारदेखि अन्तर जिल्लास्तरीय कञ्चनजंघा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । फुटबल प्रतियोगिताका साथै लिम्बू संस्कृतिमा आधारित धान नाच (याःलाङ), च्याब्रुङ नाच (केःलाङ) सहितका प्रतियोगितात्क कार्यक्रमहरु आयोजना गरिएको पनि समितिका संयोजक चन्द्रकुमार थेबेले जानकारी दिनुभएको छ ।