|

मुकेश मेमोरियल र पाथीभरा टाइगर फाइनलमा

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस ४ । ताप्लेजुङस्थित पूर्वकै ऐतिहासिक पुसे मेला स्वर्ण महोत्सवमा सञ्चालित अन्तर जिल्लास्तरीय पुरुष भलिबलमा स्थानीय मुकेश मेमोरियल क्लब र झापाको पाथीभरा टाइगर भलिबल क्लब दमक, झापा फाइनलमा पुगेका छन् ।
मेरिङ्देन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको संगमस्थल दोभान बजारमा सञ्चालित भलिबल प्रतियोगिताअन्तर्गत बुधबार (आज) भएको सेमिफाइनलमा संखुवासभालाई सोझो सेटमा पराजित गर्दै मुकेश मेमोरियल क्लब फाइनल प्रवेश गरेको हो । मुकेश मेमोरियल क्लबले २५–२१, २५–१९, २६–२४ को सेटमा संखुवासभालाई पराजित गरेको हो ।
यस्तै मंगलबार भएको पहिलो सेमिफाइनलमा भोजपुर भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक फाइनलमा पुगेको हो । पाथीभरा टाइगर भलिबल क्लबले भोजपुरलाई १९–२५, २५–२२, २५–१६,२५–१२ सेटमा पराजित गरेको थियो । अब मुकेश मेमोरियल क्लब र पाथीभरा टाइगर क्लबबीचको फाइनल भिडन्त बिहीबार हुने छ ।
भलिबल प्रतियोगिताको विजेताले तीन लाख रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै उपविजेताले एकलाख ५० हजार रुपियाँ नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पुसे मेला स्वर्ण महोत्सव आयोजक समितिले जनाएको छ । मेला पुस १ गते आइतबारदेखि सुरु भएको हो ।

Similar Posts