फुङलिङमा लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर २४ । ताप्लेजुङको फुङलिङमा लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान आइतवार समापन गरिएको छ ।

लैंगिक हिंसा बिरुद्ध सचेतनामुलक वक्तृत्वकला,नाटक तथा अन्र्तक्रिया सहित कार्यक्रम समापन गरिएको फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले जानकारी दिनुभयो । उहाँ फुङलिङमा लैंगिक हिंसा बिरुद्धको अभियान मनाउन गठित समिति संयोजक पनि हुनुहुन्छ । प्रतिनिधिसभाका सांसद तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईको प्रमुख आथित्यतामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापनसत्र भएको हो । पूर्व मन्त्री भट्टराई,प्रदेश सरकारका पूर्व मन्त्री बलबहादुर साम्सोहाङ र जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले तीनवटा दीप प्रज्वलन गर्नु भएको थियो ।

तीनवटा दीप प्रज्वलनको खास अर्थ रहेको नगर उपप्रमुख ओझाले बताउनुभयो । डोमोनिकन गणतन्त्रका मिरावेल परिवारका तीनजना दिदीबहिनी क्रमशः पेट्रिया, मिर्नभा र मारियाले तत्कालीन त्रुजिलो सरकारले गरेको हिंसाविरुद्ध सन् १९६० नोभेम्बर २५ मा सुरु गरेको अभियान र संघर्षको स्मरणस्वरूप यो दिवस मनाउने गरिन्छ । उनीहरुकै सम्मानमा तीनवटा दीप प्रज्वलन गरिएको आयोजकले जानकारी दिएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो दिवस मनाउने गरिन्छ ।

नेपालमा २०५४ सालदेखि दिवस मनाउन थालिए पनि संस्थागत मान्यता भने केही पछि मात्र पाएको हो । सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिप (सिडब्लुजिएल) को सहयोगमा विभिन्न २३ देशमा लैंगिक हिंसाविरुद्धको दिवस बनाउन थालिएको हो । सन् १९९९ बाट भने संयुक्त राष्ट्रंघले नोभेम्बर २५ लाई लैंगिक हिँसाविरुद्धको अभियानका रूपमा आत्मसात गर्दै आएको छ । गत मंसिर ९ गते पहिलो सूर्योदय क्षेत्र भनेर चिनिने सुकेटारनजिकैको झुल्के डाँडाबाट लैंगिक हिंसाविरुद्धको सोह्र दिने अभियान प्रारम्भ गरिएको थियो । प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमले अभियान शुभारम्भ गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts