पाँचबर्षभित्र ताप्लेजुङ सहित तीन जिल्लामा ९० वटा सामुदायिक बिद्यालय बनाउने युडब्लुयस नेपालको घोषणा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १९ । युनाईटेड वल्र्ड स्कुल(युडब्लुयस)नेपालले आगामी पाँचबर्ष भित्र ९० वटा सामुदायिक बिद्यालयको भवन निर्माण सहित आधुनिक प्रविधिमैत्री सिकाई बिधि विकास गर्ने घोषणा गरेको छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गरेर युडब्लुयस नेपालले उक्त घोषणा गर्दै पूर्वाधार निर्माणमा लामो अवधि नलिने भनेको छ । सामान्यतया ११ कोठे भवन निर्माणका लागि अधिकतम् ७० दिन लाग्ने गरेको संस्थाले जनाएको छ । ताप्लेजुङ,संखुवासभा र गुल्मीलाई कार्यक्षेत्र बनाएको युडब्लुयस नेपालले गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय भवन,आकर्षक कक्षा कोठा,प्रविधि सहितको सिकाई,खेलकुद सामाग्री सहितको बिद्यालय,क्षमता सहितको जनशक्ति र बिद्यार्थी सहयोग कार्यक्रमलाई एकसाथ प्रयोगमा आउने बताएको हो ।

ग्रामीण,दुर्गम,पछाडि पारिएका र सीमान्तकृत बालबालिकालाई गुणस्तरीय तथा प्रभावकारी शैक्षिक पहुँचमा ल्याउन संस्थाले अभियान अघि बढाएको युडब्लुयस नेपालका अध्यक्ष खेमराज खड्काले बताउनुभयो । उहाँले आफुहरुले स्थानीय तहसंग र सम्वन्धित सरोकारवालासंग शैक्षिक सहकार्य गर्ने समेत जानकारी दिनुभयो ।

२०७२ साल चैतमा स्थापना भएको युडब्लुयस नेपालले तीन जिल्लाका ७६ वटा बिद्यालयमा ५ सय ९ वटा कक्षा कोठा निर्माण गरिसकेको जनाएको छ । जस अनुसार संखुवासभामा ५३,गुल्मीमा १८ र ताप्लेजुङमा ५ वटा बिद्यालय निर्माण भएका छन् । युडब्लुयस नेपालको कार्यक्षेत्रका दृष्टीले ताप्लेजुङ कान्छो जिल्ला हो । खड्काका अनुसार यो अभियानबाट तीन जिल्लाका १३ हजार ९ सय २८ बालबालिका लाभान्वित भएका छन् । संस्थाका कार्यक्रम प्रवन्धक अविनाश झाका अनुसार गुणस्तरीय शिक्षाको प्रवद्र्धनका लागि काम गर्नु संस्थाको प्रमुख उद्देश्य हो । बालबालिकाका लागि सुरक्षित कक्षाकोठाको निर्माण र अध्ययनका लागि उनीहरुलाई उत्प्रेरित गर्न सबैखाले आधुनिक सुबिधा तथा प्रविधियुक्त पूर्वाधारको विकास र व्यवस्थापनमा ध्यान दिने घोषणा गरेको छ ।

संस्थाले सहकार्य गरेको बिद्यालयमा गुणस्तरीय शिक्षाका लागि आवश्यकताको आधारमा निर्धारित पाठ्यक्रम र बिश्वसनीय शिक्षण बिधिको प्रयोग गरिने भएको छ । कक्षा कोठामा प्रयोगात्मक,उच्चतम्,नवीन र सृजनात्मक शिक्षण बिधि कार्यान्वयन गर्ने,कक्षाको दैनिक सूचीको तयारी,बिद्यार्थीको कक्षा छाड्ने दर घटाउन मोवाईल एप्लीकेशनको प्रयोग र पढाई निरन्तरताका लागि बिद्यार्थी तथा अभिभावकलाई प्रोत्साहित गर्ने कार्यक्रम समेत संस्थाले प्रयोगमा ल्याउने छ । युकेएडको सहयोगमा आगामी ५ बर्ष सम्म यो कार्यक्रम निरन्तर कार्यान्वयनमा ल्याउने सो अवधि भित्रमा साझेदार दातृ निकाय संगको समन्वयमा कार्यक्षेत्र बिस्तार सहितका योजना अघि बढाउने युडब्लुयसले घोषणा गरेको छ ।

फगत बिद्यालय भवनलाई मात्र शिक्षण सिकाईको केन्द्रको रुपमा विकास गर्न नसकिने निश्कर्ष सहित गुणस्तरीय सिकाईका लागि रचनात्मक कक्षाकोठा,आधारभूत शैक्षिक उपकरण,आवश्यकता बमोजिम शिक्षक व्यवस्थापनमा सहयोग र शिक्षण फेलोसिप कार्यक्रममार्फत दक्ष तथा प्रशिक्षित जनशक्तिको तयार गर्न संस्थाले सहकार्य गर्ने भएको छ । संस्थाले भौतिक पूर्वाधार निर्माणका लागि समुदायबाट जमिन,काठ र ढुङ्गा सहितका कच्चा पदार्थमा उसले सहकार्य गर्ने छ भने माग र आवश्यकतामा आधारित योजनालाई प्राथमिकतामा राख्ने बताएको छ । सहकार्यका क्रममा युडब्लुयस प्रथम पक्ष,बिद्यालय द्धितीय पक्ष र स्थानीय सरकार तृतीय पक्षभई त्रिपक्षीय साझेदारी हुने भएको छ ।

५ बर्षको सहकार्यका क्रममा बिद्यार्थीको सिकाई मूल्याङ्नको तह चौथो बर्षमै कम्तिमा तृतीय श्रेणी सम्मको हुने लक्ष्यका साथ सहकार्य हुने संस्थाले जानकारी दिएको छ । प्रभावकारी शिक्षण,सिकाईको दीगोपना,दक्ष जनशक्तिद्धारा रचनात्मक शिक्षण,पढाईमा बिद्यार्थीको उत्सुकता,बिद्यालयमा शान्त शैक्षिक वातावरण सहितका क्रियाकलापलाई प्रभावकारी सिकाईका आधारको रुपमा लिने गरिन्छ । आगामी सहकार्य बारे युडब्लुयसले ताप्लेजुङका स्थानीय तहका प्रमुख सहित शैक्षिक सरोकारवाला संस्थाहरुसंग संयुक्त परार्मश कार्यक्रम समेत राखेको जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts