| |

उद्योग दिवसको अवसरमा ताप्लेजुङका पाँच उद्यमी सम्मानित

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, मंसिर ९ । उत्कृष्ट कार्य गर्ने पाँच जना उद्योगीलाई पुरस्कृत तथा उद्योग प्रवर्द्धन बिषयमा उद्योगी–सरोकारवालाको अन्तक्र्रिया गर्दै ताप्लेजुङमा शनिबार ९ औं उद्योग दिवस मनाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले गत आर्थिक वर्ष २०७९।८० मा प्रदेश सरकारमार्फत पुरस्कृत दुई महिला उद्यमीलाई थप उद्यम सफलताको शुभकामनासमेत दिएको छ ।
उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साइँका अनुसार पुरस्कृत हुनेमा पाथीभरा हर्वल अगरबत्ति उद्योग (फुङ्लिङ–४) का प्रोपाइटर माया सुबेदी भट्टराई, गोरुजुरे हाते कागज उद्योग (मैवाखोला–३) का प्रोपाइटर टीकाकुमारी लिम्बू र युसन पशु तथा कृषि फर्म (फुङ्लिङ–९) का प्रोपाइटर योगेश गुरुङ रहनुभएको छ ।
यस्तै साहना सिलाई कटाई सेन्टर (फुङ्लिङ–४) का प्रोपाइटर प्रेमकुमारी दर्जी र रवी पर्वत खुकुरी उद्योग (फुङ्लिङ–२) का प्रोपाइटर चंखबहादुर कामी रहनुभएको छ । उहाँहरुलाई जनही नगद ४ हजार रुपैयाँसहित सम्मानित गरिएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नवीन भट्टराईले जानकारी दिनुभयो । त्यस्तै गत आवमा प्रदेश सरकारबाट पुरस्कृत महिला उद्यमीद्वय मात्रिकादेवी प्रसाईं र बचनकुमारी लिम्बूलाई कार्यालयले सम्मान गरेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई, सशस्त्र प्रहरी बल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति रवीन सिलवाल, प्रमुख अनुसन्धान अधिकृत दुर्गा चापागाईं, नेपाल बैंक लिमिटेड ताप्लेजुङका प्रवन्धक बसुन्धरा आचार्य सहितले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो ।
कार्यक्रममा ताप्लेजुङ उद्योग बाणिज्य संघका महासचिव कमल लिम्बू, नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतम, नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारती र सचिव हर्कराज गुरुङ सहितले उद्योग प्रवर्द्धन र बजार विकासका नयाँ आयामबारे प्रष्ट्याउनुभएको थियो । ‘स्वदेशी उत्पादन अभियान, उद्यमीको सम्मान’ भन्ने नाराका साथ यसवर्षको ९ औं उद्योग दिवस मनाइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts