पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङ्बाङद्वारा पदभार ग्रहण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर ६ । पाथीभरा क्षेत्र विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले पाथीभरा क्षेत्रको आम्दानी तथा खर्चको बिबरण मासिक रुपमा सार्वजनिक गर्ने घोषणा गर्नु भएको छ । उहाँले यहिँ मंसिर महिनाको दोस्रो साता पाथीभरा क्षेत्रमा निमार्णाधिन लिफ्टिङ प्रविधिको खानोपानी सहितका योजना, पाथीभरा क्षेत्रको पक्की सडक निर्माण, यातायात व्यवस्थापन, पदमार्ग व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, कर्मचारी परिचालन र तीर्थयात्रीको सहज तिर्थाटनका लागि स्थलगत रुपमै बुझ्न सरोकारवालाको बृहत्त अनुगमन कार्यक्रमको प्रस्ताव गर्नु भएको छ ।

बुधवार पदभार ग्रहण गर्दै उहाँले पाथीभरा क्षेत्रमा समस्या समाधान र तीर्थालुको सहज अवागमनका लागि आफ्नो कार्यकालभर मेहनेत लगाउने बताउनुभयो । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले पदभार ग्रहण गराउँदै कार्यकाल अवधिभर रचनात्मक कार्य गर्ने प्रेरणाका लागि हाङ्वाङलाई शुभकामना दिनु भएको छ । सोहि अवसरमा पाथीभरा क्षेत्र विकास समितिका निवर्तमान कार्यकारी निर्देशक मनमणि काफ्लेलाई सफल कार्यकालको निम्ति कदरपत्रसहित बिदाई गरिएको छ । काफ्लेले आफुले नवनियुक्त कार्यकारी निर्देशक हाङवाङको जस्तो गरी पदभार ग्रहण गर्न नपाएको बताउँदै आफुले कार्यकालभर सिकेका अनुभव पाथीभरा क्षेत्र विकास समिति सहितका सरोकारवाला निकायलाई दिइरहने बचनबद्धता व्यक्त गर्नुभयो ।

हाङ्वाङको पदभार ग्रहण तथा काफ्लेको बिदाईका अवसरमा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिम, प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, जिल्ला प्रहरी प्रमुख राजन लिम्बू, सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति रवीन सिलवाल, प्रमुख अनुसन्धान अधिकृत दुर्गाप्रसाद चापागाँई, पाथीभरा क्षेत्र विकास समितिका सदस्यहरुसहित समितिको सचिवालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । गत कात्तिक २० गतेको मन्त्रिस्तरीय निर्णयबाट कात्तिक २१ गते नियुक्त हुनु भएका हाङवाङको कार्यकाल ४ बर्षको हुने छ । काफ्लेको ४ बर्षे कार्यकाल गत कात्तिक ६ गते सकिएको थियो ।

१७ सदस्यीय पाथीभरा क्षेत्र विकास समितिमा अध्यक्ष र कार्यकारी निर्देशक बाहेक ५ जना सदस्य सरकारले मनोनित गर्छ । प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभाका सांसद देखि पाथीभरा क्षेत्र छोएका स्थानीय तहका प्रमुख र बिषयगत निकायका अधिकारी पदेन सदस्य हुने प्रावधान रहेको छ । कार्यकारी निर्देशक पद मासिक तलवभत्ता समेत पाउने जिम्मेवारी हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशकको नेपाल सरकारको उपसचिव(राजपत्राङ्कित द्धितीय श्रेणी) सो सरहको मासिक सुबिधा हुने पाईएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts