प्रशासन कार्यालय परिसरबाटै पासपोर्टको अनलाइन फारम भर्ने व्यवस्थाको तयारी भइरहेको छ ः प्रजिअ पौडेल

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ५ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जिल्ला प्रशासन कार्यालय परिसरभित्रैबाट राहादानी(पासपोर्ट)को अनलाइन फारम भर्न पाउने व्यवस्थाको तयारी भइरहको बताउनु भएको छ ।

‘ठ्याक्कै यहिँ मितिबाट त्यो व्यवस्था सुरु हुन्छ भनेर किटान त गर्दिन,तर यो व्यवस्था सुरु हुने बिषयमा आशावादी बनौं’प्रमुख जिल्ला अधिकारी भएर आएपछि मंगलवार ताप्लेजुङका सञ्चारकर्मीसंगको परिचयात्मक कार्यक्रममा पौडेलले भन्नुभयो । उहाँले यसका लागि स्थानीय तहसंग समेत सहकार्य गर्ने बताउनुभयो । पौडेलले बाल बिज्याँईको अभियोग खेपेका बालबालिकाका लागि वाल सुधार गृह र सेफ हाउसको व्यवस्थापनका बिषयमा समेत चासो राख्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकको शान्ति सुरक्षा सुद्रिढ बनाउन सम्वन्धित सबैपक्षसंग समन्वय र सहकार्य गर्न तयार रहेको प्रष्ट्याउनुभयो । सूचना सहकार्यका लागि आफुहरुबाट कुनै कञ्जुस्याँई नहुने पौडेलेको भनाई थियो । पाथीभरा क्षेत्र सहित जिल्लाको समग्र यातायात व्यवस्थापन सहितका बिषयमा आफुले अध्ययन गरिरहेको बताउँदै प्रजिअ पौडेलले सकारात्मक बिषयलाई प्रोत्साहन गर्न र सुधार गर्नुपर्ने बिषय उठान गरी सेवा प्रवाह चुस्त बनाउने कार्यमा सहयोगी भूमिका निर्वाह गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । जिल्लाको समृद्धि र सुद्रिढ सुरक्षा व्यवस्थाका लागि असल मनशायका साथ सम्वन्धित सबै निकाय र पक्षसंग सहकार्य गर्ने उहाँको बचन थियो ।

यसअघि मुस्ताङ,रसुवा र भोजपुरको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसक्नु भएकी पौडेलका लागि प्रजिअको भूमिकामा ताप्लेजुङ चौथो जिल्ला हो । पौडेल ताप्लेजुङको दोस्रो महिला प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । यसअघि ताप्लेजुङको पहिलो महिला प्रमुख जिल्ला अधिकारी रहनु भएकी गोमादेवी चेम्जोङको सरुवा भएसंगै पौडेल ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीमा आउनु भएको हो । पौडेल बिपद् व्यवस्थापन प्राधिकरण काठमाडौंबाट ताप्लेजुङको प्रजिअमा आउँदा चेम्जोङको इलाम जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी दरबन्दी भई बिपद् व्यवस्थापन प्राधिकरण काठमाडौंमा काज सरुवा भएको छ ।

मंगलवारै प्रमुख जिल्ला अधिकारी पौडेलले स्थानीय क्रियाशिल राजनीतिक दल,उद्योगी व्यवसायी,रेडक्रस र होटल व्यवसायी संघका पदाधिकारी तथा सदस्यसंग जिल्लाको बस्तुस्थिति बारे छलफल गर्नु भएको । शान्ति सुरक्षा,यातायात व्यवस्थापन सहितका बिषयमा उठेका सवालहरुका बारेमा जिल्ला प्रहरी प्रमुख(डिएसपी)राजन लिम्बू,सशस्त्र प्रहरी बल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति रवीन सिलवाल,प्रमुख अनुसन्धान अधिकृत दुर्गाप्रसाद चापागाँई र सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले सहजीकरण गर्नु भएको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts