सहमहामन्त्री राठौरलाई अघि राखेर काँग्रेस केन्द्रीय सदस्यको राणाको उद्घोष ः महासमिति बैठकको एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १७ । बिद्यमान निर्वाचन प्रणालीले सत्ता र सरकार जहिल्यै अस्थिर हुने भन्दै नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीको आउँदो महासमिति बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा उठाउने बताएका छन् ।

काँग्रेसका सहमहान्त्री किशोरसिंह राठौरसंगै पूर्वी पहाडी जिल्लाहरुको भ्रमणका रहनु भएका काँग्रेस केन्द्रीय सदस्य उदयशमसेर जवराले महासमिति बैठकको प्रमुख एजेण्डा नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिनुभयो । महासमिति बैठकलाई काँग्रेसको नीति महाधिबेशनको रुपमा लिने गरिन्छ । प्रेस युनियन ताप्लेजुङले शुक्रवार फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा राणाले काँग्रेसका युवा पुस्ताका नेता तथा कार्यकर्ताहरुले अब बिद्यमान निर्वाचन प्रणाली परिवर्तनको एजेण्डा बोकेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले बिहीबार पाँचथर सदरमुकाम फिदिममा पुगेर त्यहाँका महासमिति सदस्यहरुलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा महासमिति बैठकमा कुरा उठाउन आग्रह गर्नु भएको थियो ।‘म ताप्लेजुङबाट निर्वाचित हुने महासमिति सदस्यहरुलाई समेत यहिँ एजेण्डामा अग्रसर हुन आग्रह गर्छु’उहाँले भन्नुभयो । जिल्ला अधिबेशन सकिएको दुईबर्ष पछि ताप्लेजुङ काँग्रेसले भने शनिवार मात्र ११ जना महासमिति सदस्य चयन गर्दैछ । त्यसका लागि काँग्रेस ताप्लेजुङको जिल्ला भेला शुक्रवार र शनिवार दुईदिनका लागि आयोजना भएको छ ।

राणाले बिद्यमान सत्ता गठबन्धन ५ बर्ष सम्म कायम रहेपनि प्रधानमन्त्री भने परिवर्तन हुने बताउनुभयो । ‘दुईबर्ष प्रचण्ड,एकबर्ष माधव नेपाल र बाँकी २ बर्ष शेरबहादुर देउवा प्रधानमन्त्री हुने गठबन्धनको सहमति हो’राणाले भन्नुभयोे‘त्यो सहमति कार्यान्वयन हुनुपर्छ र हुन्छ’। राणा संगै रहनु भएका काँग्रेस सहमहामन्त्री राठौरले अहिले सम्म संसद भित्रबाट प्रधानमन्त्री हुने व्यवस्था चलिआएपनि महासमितिले गर्ने निर्णय पार्टीको संस्थागत निर्णय हुने बताउनुभयो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डामा भने उहाँले कुनै अरु बिषय नखुलाएपनि राणाको भनाईको प्रतिवाद भने गर्नुभएन । ५ बर्ष सम्म गठबन्धन कायम रहनेमा ढुक्क रहन आग्रह गर्दै राठौरले समय आएपछि सरकार परिवर्तन हुने बताउनुभयो । अहिले ज्यादा अराजकता बढेको,केहि भएन भन्ने सुनिएपनि मुलुकका निकै ठूलो परिवर्तन आएकोले निरासालाई आसामा बदल्न आवश्यक रहेको उहाँको भनाई थियो ।

राठौरले सानातिना झगडामा नअल्झिई मर्यादित,धैर्य र निरन्तर काँग्रेसको संगठन सुद्रिढीकरणमा लाग्न पार्टीका तल्लो तहका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नयाँ राजनीतिक दलप्रति कटाक्ष गर्दै राठौरले उनीहरु ‘एजेण्डा बिहिन’भएको आरोप लगाउनुभयो । आफ्ना लागि केहि पाउनका लागि भन्दा पनि देशलाई केहि दिनका लागि राजनीति गर्ने संस्कारबाट हुर्किएका दलहरुलाई हिलो छ्यापेर नयाँ राजनीतिक दलहरुले राजनीतिको रोेटी सेक्ने काम गरेको राठौरको भनाई थियो ।‘अरु केहि स्वीकार गर्न नसकेपनि देश परिवर्तनका लागि हामीले गरेको संघर्ष त स्वीकार ! ’राठौरले नयाँ राजनीतिक दलहरुलाई भन्नुभयो ।

अवसरको खोजीमा सिद्धान्त त्यागेको भन्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्ले माथि पटाक्षेप समेत गर्नु भएको थियो । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य लिलादेवी बोखिम,प्रदेशसभा सदस्यद्धय खगेनसिंह हाङ्गाम र मैया श्रेष्ठ लावती,काँग्रेसका पूर्व जिल्ला सभापति केशवप्रसाद दाहाल,महासमिति सदस्य टीकाराम गुरुङ,पदमसुन्दर पालुङवा,इन्द्र केदेम,विश्वराज नाल्वो सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts