विश्व दृष्टी दिवसको अवसरमा भीमकाली गुल्ममा आँखाको उपचार तथा परीक्षण

ताप्लेजुङ,असोज २५ । विश्व दृष्टी दिवसको अवसरमा बिहीबार नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले यहाँस्थित भीमकाली गुल्ममा कार्यरत नेपाली सेनाको आँखाको परीक्षण तथा उपचार गरेको छ ।

गुल्ममा कार्यरत सकल दर्जाका कर्मचारी तथा परिवारको आँखाको परीक्षण संगै निःशुल्क रुपमा औषधि बितरण गरेको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड वर्कर काजीमान थेबेले कार्यस्थलमा रहँदा आँखामा देखिने बिभिन्न समस्याको परीक्षण तथा उपचार गरिएको जानकारी दिनुभयो । परीक्षणमा संलग्न टोलीले कार्यक्षेत्रमा रहँदा आँखा जोगाउने उपाय बारे सहभागीलाई अनुशक्षिण समेत गराएको जनार्ईएको छ । कार्यक्रमको आयोजना गरेर गुल्मका कार्यरत नेपाली सेनाको आँखाको परीक्षण तथा औषधि बितरण गरेकोमा भीमकाली गुल्मका गुल्मपति सेनानी पवन नगरकोटीले आयोजक संस्थाप्रति आभार व्यक्ति गर्नु भएको छ ।

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिकिन इञ्चार्ज काजीमान गुरुङले पछिल्लो समयमा आँखामा बिभिन्न समस्याहरु देखा पर्दै गएको र ति समस्याको पहिचान तथा प्राथमिक उपचारको प्रवन्धका लागि विश्व दृष्टी दिवसको अवसर पारेर गुल्ममा कार्यरत जनशक्तिको आँखाको परीक्षण गरिएको बताउनुभयो । कार्यक्रममा नेपाल नेत्र ज्योति संघ ताप्लेजुङका सहसचिव युवराज गिरी,कोषाध्यक्ष निरोज श्रेष्ठ,सहकोषाध्यक्ष लक्ष्मीमाया वनेम र सदस्य खगेन्द्र नेपाली सहितको उपस्थिति रहेको थियो । ‘कार्यस्थलमा आँखालाई माया गरौं’भन्ने नाराका साथ बिहीबार नेपाल नेत्र ज्योति संघ र मातहतका आँखा अस्पताल तथा उपचार केन्द्रले विश्व दृष्टी दिवस मनाएका छन् ।

Similar Posts