जडिबुटीको पहिचान गराउन र आफ्नै कार्यालय भवन निर्माणका लागि आर्युबेद स्वास्थ्य केन्द्र ताप्लेजुङद्धारा जग्गाको माग

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २३ । जिल्ला आर्युबेद स्वास्थ्य केन्द्र ताप्लेजुङले जडिबुटीको पहिचान गराउन जग्गाको अभाव र आफ्नै कार्यालय भवन नहुँदा सेवा प्रवाहमा कठिनाई भईरहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गरेको छ ।

मंगलवार आफ्नो बार्षिक समिक्षा तर्जुमा कार्यक्रममार्फत आर्युबेद स्वास्थ्य केन्द्रले जिल्लामा रहेका आर्युबेद औषधालय र नागरिक आरोग्य सेवा केन्द्रमा सम्वन्धित स्थानीय तहले थप ध्यान नदिए सञ्चालन प्रकृयामै असर हुने औंल्याएको छ । जिल्ला आर्युबेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर गम्भिर झा ले दरबन्दी अनुसारको जनशक्ति अभाव र कार्यालयमा प्राप्त हुने न्यून बजेटका कारण आर्युबेद स्वास्थ्य संस्थाले अपेक्षा र योग्यता अनुसार सेवा प्रवाह प्रभावकारी बनाउन नसकेको दुखेसो पोख्नुभयो ।‘न्यून रुपमा प्राप्त भइरहेको बजेट झन्–झन् घटेको छ’उहाँले भन्नुभयो ‘दरबन्दी अनुसारको जनशक्ति कटौतिले सेवा प्रवाह यसैपनि जटिल हुने नै भयो’ ।

आर्युबेद चिकित्सा प्रणालीप्रति सेवाग्राहीको आर्कषण बढ्दो रुपमा रहेपनि कार्यालय व्यवस्थापनको समस्या, जडिबुटीको पहिचान गराउन जग्गाको अभाव र न्यून बजेटका कारण सेवाग्राहीको त्यो आकर्षणलाई प्रभावकारी बनाउन समस्या आइरहेको उहाँको भनाई थियो । ताप्लेजुङ सदरमुकाममा जिल्ला आर्युबेद स्वास्थ्य केन्द्र रहेको छ भने मैवाखोला गाउँपालिकाको केन्द्र साँघु र मेरिङदेन गाउँपालिकामा गरी २ वटा आर्युबेद औषधालय रहेको छ । यस्तै आठराई त्रिबेणी गाउँपालिकाको केन्द्र हाङ्पाङ,मिक्वाखोला गाउँपालिकाको केन्द्र थलङ साँवा,पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बु र सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुमा गरी ४ वटा नागरिक आरोग्य सेवा केन्द्र रहेका छन् ।

आठराई त्रिबेणी गाउँपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख श्रीनारायण झाले उचित सहयोग र संरक्षण गरेर आरोग्य सेवा केन्द्रलाई पालिकाकै एक अभिन्न स्वास्थ्य निकायको रुपमा ग्रहण गर्ने वातावरणका लागि सम्वन्धित स्थानीय तहलाई आग्रह गर्नु भएको छ । सिदिङ्वामा रहेको नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख अजित चौधरीले आफुहरुलाई न्यून रुपमा रुहेको मासिक तलव बाहेक कार्यालय व्यवस्थापन सम्ममा खर्चको अभाव रहेकोले पालिकाकातर्फबाट केन्द्रको संरक्षण र व्यवस्थापनको दायित्व ग्रहण गर्ने वातावरण तयार गर्न आग्रह गरेका छन् । झाका अनुसार उहाँको तलव मासिक २५ हजार रुपैयाँ रहेको छ ।‘तलवले भात खाँउला छुट्टै कुरा हो,तर आरोग्य केन्द्रको संरक्षण र व्यवस्थापनमा सम्वन्धित पालिकाले समेत ध्यान दिनुपर्छ भन्ने हाम्रो आग्रह हो’झाले भन्नुभयो ।

जिल्ला आर्युबेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर झाले जडिबुटीको पहिचान गराउन र कार्यालय भवन निर्माणका लागि जग्गाको उपलब्धताको पहल गर्न सम्वन्धित पक्षलाई आग्रह गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले आर्युबेद स्वास्थ्य केन्द्रले राखेका सवाललाई स्थानीय सरकारकोतर्फबाट गर्न सकिने सहयोगका लागि जिल्लाभरका स्थानीय तहका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको समन्वय बैठक बस्न उपयुक्त हुने आफ्नो बुझाई रहेको बताउनुभयो । केन्द्र र प्रदेश सरकारले समेत आर्युबेद स्वास्थ्य केन्द्रका जिल्लागत समस्याको उचित सम्बोधन गर्नुपर्ने उहाँको भनाई थियो ।

फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले आर्युबेद चिकित्सा प्रणालीप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएका बेला सेवा बितरक निकाय संस्थागत र संरचनागत समस्यामा अल्झनु राम्रो नभएको भन्दै यो बिषयमा संघ र प्रदेश सरकारले उचित ध्यान दिनुपर्ने बताउनुभयो । नागरिक आरोग्य सेवा केन्द्रको संरक्षण र व्यवस्थापनमा सम्वन्धित पालिकाले समेत उचित चासो दिनुपर्ने उहाँको भनाई थियो । जिल्ला समन्वय अधिकारी समेतको भूमिकामा रहेका फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनालले संस्थागत र संरचनागत दुबै किसिमले सक्षम भएको निकायले मात्र अपेक्षाकृत रुपले सेवा प्रवाह गर्न सक्ने भएकोले आर्युबेद स्वास्थ्य केन्द्रको समस्यालाई साझा रुपमा लिनु अनिवार्य रहेकोमा जोड दिनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts