सेतो पुतलीको झुस बिझेको बढीमा तीनदिनभित्र आँखाको उपचार पहुँचमा जान आँखा प्राविधिहरुको सुझाव

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २१ । आँखा रोग सम्वन्धी प्राविधिक तथा जानकारहरुले सेतो पुतलीको झुस बिझेको बढीमा तीनदिनभित्र उपचारको पहुँचमा नगए आँखाको ज्योतिमा नकारात्मक प्रभाव पर्ने बताएका छन् ।

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका इञ्चार्ज काजीमान गुरुङले सेतो पुतलीको झुस मानिसको आँखामा बिझ्न गएमा ‘सापु’ रोग लाग्ने भएकोले यस्तो समस्या भएको बढीमा तीनदिनभित्र उपचार तथा परीक्षणमा जान सुझाउनु भएको छ ।‘जति ढिलो भयो,उति नै आँखाको ज्योतिमा असरपर्ने र ढिला भए तथा हेलचेक्र्याँई गरे आँखा नै बन्द हुने भएकोले चाँडो उपचारको पहुँचमा पुग्नु अनिवार्य छ’गुरुङले भन्नुभयो । उहाँका अनुसार सेतो पुतलीले सेतो प्रकाश मन पराउँछ । पुतली लाटो हुने भएकोले जता–जता सेतो प्रकाश बलेको छ,उ त्यतै–त्यतै झुम्मिन थाल्छ । सेतो प्रकाश मन पराउने त्यो सेतो पुतलीको झुस भुवाजस्तै उड्ने भएकोले जतिबेलै पनि जोखिम हुने उहाँले बताउनुभयो ।

नेपाल नेत्र ज्योति संघ,तेजरत्न आँखा तथा कान उपचार केन्द्र संखुवासभाका क्लिनिक इञ्चार्ज क्षितिज बरालका अनुसार सापु एक दृष्टीनाशक आँखाको रोग हो । यो रोग प्रायःबालबालिकाहरुमा बढीमा मात्रामा देखा पर्ने गर्छ । नेपालको मध्य पहाडी तथा तराइका क्षेत्रमा यो रोगको संक्रमण बढी देखा पर्ने बरालले जानकारी दिनुभयो । भदौ देखि मंसिर महिना सम्म सापु रोग बढी मात्रामा देखा पर्ने गर्छ । डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज गुरुङका अनुसार रोमनमा भनिएको‘SHAPU’को बिशिष्ट अर्थ छ । पहिलो अक्षरले सिजनेबल अर्थात् मौसमी,दोस्रो अक्षरले हाईपर अर्थात् धेरै,तेस्रो अक्षरले एक्युट अर्थात् तुरुन्तै,चौथो अक्षरले पान अर्थात् सबै र पाँचौंले युभिटाईज एट्याक अर्थात् सुन्निएको भागको अर्थ लाग्छ । यसमा अर्थमा रोमनमा भनिएको सापुको अर्थ मौसमी संक्रमणका कारण आँखाको पूरै भाग रातो र सुन्निएको अवस्थाको चित्रण हो ।

आँखा बिशेषज्ञहरुका अनुसार यो रोग लागेमा आँखाको पर्दा र नशा लगायतका भागमा असर गर्छ । पुतलीको झुस आँखामा परेको केहि घण्टाको बीचमा नै आँखाको दृष्टी कम हुँदै जाने भएकोले सजगता अपनाउनु पर्ने गुरुङको सुझाव छ । आँखामा सेतो पुतलीको झुस परेको ७२ घण्टाभित्र यसको उपचार नगरे यसले आँखाको ज्योति पूर्णरुपमा बन्द समेत गराउन सक्ने गुरुङले जानकारी दिनुभयो ।‘सोच्दा सानो जस्तो भएपनि यो अत्यन्तै घातक मानिन्छ’गुरुङले भन्नुभयो । गुरुङका अनुसार यो रोग सबैभन्दा बढी पहाडी क्षेत्रका मानिसमा देखा परेको पाईन्छ । रोग देखिएका मध्ये ६५ देखि ७० प्रतिशत १६ बर्ष मुनिका बालबालिका रहेको समेत उहाँले जानकारी दिनुभयो । संख्यात्मक हिसावले करिव ७० प्रतिशत पहाडी क्षेत्रका बासिन्दा यो रोगबाट प्रभावित भएको पाईएको गुरुङले बताउनुभयो । एक्कासी एउटा आँखा रातो हुनु,चिप्रा नलाग्नु,उज्यालोमा हेर्न नसक्नु,आँखाको दृष्टीमा तत्कालै कमी हुनु र आँखाको दुखाइ बढ्दै जानु सापु रोगको लक्षण तथा चिन्हको रुपमा बुझ्न सकिन्छ ।

जानकारहरुका अनुसार सेतो पुतलीको झुस पर्नासाथ आँखा रातो हुने तथा चिलाउने गर्छ । त्यसपछि क्रमशःउज्यालोमा हेर्न गाह्रो हुने,केहि घण्टाको अन्तरालमै आँखाको ज्योति घट्दै जाने र आँखाको दुखाईमा घटबढ हुने जस्ता समस्याहरु देखा पर्छन् । रोगको लक्षण तथा चिन्हहरु देखा परेको २४ देखि ४८ घण्टा भित्र उपचार नपाए आँखाको दृष्टी गुम्ने वा आँखा सुकेर जाने जोखिम हुने गुरुङले जानकारी दिनुभयो । सेतो पुतलीको संसर्गबाट टाढै रहने,साँझको समयमा घर बाहिर नजाने,घरको झ्याल तथा ढोकामा जाली राख्ने,राती सुत्दा झुलको प्रयोग गर्ने,घर आँगनमा सकेसम्म सेतो बत्ति नबाल्ने र सम्भव भएसम्म पहेंलो सिएफएल चिम प्रयोग गर्ने हो भने सापु रोगबाट बच्न सकिने उहाँले जानकारी दिनुभयो । गुरुङले कुनैपनि पुतली प्रजाति छोएपछि साबुनपानीले अनिवार्य हात धुन,अनावश्यक रुपमा आँखा नछुन तथा आँखा नमिच्न र प्राथमिक उपचार स्वरुप आँखालाई सफा पानीले पखाल्न सुझाउनु भएको छ । बाली थन्क्याउने समय र सेतो बत्ति सेतो पुतलीका लागि रोजाईमा पर्ने भएकोले आँखा जोगाउन यो बेला अरु समयभन्दा बढी सम्बेदनशील हुनुपर्ने समेत गुरुङले सुझाउनुभयो । उहाँले आँखामा समस्या देखा पर्दा माड्ने,धामी–झाँक्री लगाएर समय बर्बाद पार्ने काम नगर्न समेत आग्रह गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts