मूल्य घट्न थालेपछि अलैँची किसान तथा व्यवसायी चिन्तित

प्रयास लिम्बू
ताप्लेजुङ, असोज १८ । अलैँचीको मूल्य घट्न थालेपछि ताप्लेजुङका किसान र व्यवसायी चिन्तित बन्न थालेका छन् । सुरुको मूल्यभन्दा अहिले प्रतिमन (४० किलाग्राम) १२ हजार रुपियाँले घटेपछि स्थानीय किसान तथा व्यवसायी चिन्तित हुन थालेका हुन् ।
भदौ दोस्रो सातापछि बजारमा निस्किन थालेको अलैँची सुरुमा प्रतिमन ६५ हजार रुपियाँ सम्ममा कारोबार भएको थियो । स्थानीय व्यवसायीका अनुसार अलैँचीको सुरुको मूल्य करिव डेढ सातासम्म कायम रहेको र त्यसपछि घट्न थालेको हो । निरन्तर मूल्य घट्ने क्रमसँगै प्रतिमन ५३ हजार रुपियाँमा आइपुगेको सदरमुकाम फुङ्लिङ बजारका अलैँची व्यवसायी भद्रबीर रेग्मीले बताउनुभयो ।
अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्षसमेत रहनुभएका रेग्मीका अनुसार सुरुको मूल्यमा हजार, एक हजार पाँच सय र दुई हजार रुपियाँका दरले घट्दै–घट्दै प्रतिमन ५३ हजार रुपियाँमा आइपुगेको हो । गएको सोमबारसम्म प्रतिमन ५३ हजारले नै कारोबार हुँदै आएको अलैँची मंगलबारदेखि भने दुई हजारले वृद्धि भई प्रतिमन ५५ हजार रुपियाँमा कारोबार भइरहेको उहाँले जानकारी दिनुभयो ।
ताप्लेजुङसहित पहाड तथा हिमाली जिल्लामा उत्पादन हुने अलैँचीको मूल्य झापा विर्तामोडका अलैँची व्यापारीमा भर पर्नुपर्ने अवस्था रहेको आफूले महसुस गरेको पनि रेग्मीको भनाइ छ । विर्तामोडका व्यापारीलाई मूल्य घटेका कारण उत्पादक किसानले अलैँची ल्याउन छाडेका र मूल्य नबढाएसम्म आफूहरुले अलैँची पठाउन नसक्ने भनेकै कारण हाल दुई हजार रुपियाँले वृद्धि गरेको हुनसक्ने उहाँले बताउनुभयो । उहाँले प्रतिमन ६० हजार रुपियाँसम्म अलैँचीको मूल्य कायम गर्न पनि विर्तामोडका व्यापारीसमक्ष आग्रह गरेको सुनानुभयो ।
उहाँले जिल्लामा संघका अध्यक्षको हैसियतले स्थानीय व्यवसायीहरुलाई मूल्य वृद्धि नगरिएसम्म अलैँची नपठाउन सल्लाह दिएको र आफूले पनि पछिल्लो सातायता अलैँची विर्तामोड पठाउन छोडेको बताउनुभयो । मूल्यमा गिरावट आउन थालेपछि किसानले पनि न्युन मात्र अलैँची ल्याउन थालेका छन् । हाल किसानले ल्याएको अलैँची जिल्ला बाहिर नपठाई स्थानीय व्यवसायीले आ–आफ्नो गोदाममा भण्डारण गरेर राख्दै आएको पनि उहाँले बताउनुभयो ।
गत वर्षको तुलनामा यसवर्ष दोब्बर बढी अलैँचीको मूल्य वृद्धि भएपछि स्थानीय व्यवसायी तथा किसान निकै उत्साहित भएका थिए । तर, सुरुको मूल्य लामो समय कायम नरही निरन्तर ओरालो लाग्न (घट्न) थालेपछि अलैँची मूल्यले दिएको उत्साह निरासामा परिणत भएको किसान तथा व्यवसायी बताउँछन् । अझ दसैँ तिहारजस्ता चाडपर्व नजिकिएको समयमा अलैँचीको मूल्य निरन्तर घट्दै जानुले सर्वसाधारण किसानलाई बढी चिन्तित बनाएको पाइएको छ ।
चाडपर्व खर्च जोहो गर्न कम मूल्यमा भए पनि किसानले अलैँची बिक्री गर्छन् भने मनसायले व्यापारीले मूल्य घटाएको हुनसक्ने फक्ताङ्लुङ गाउँपालिकाका स्थानीय सुकदल लिम्बूको आरोप छ । सर्वसाधारणलाई न्युन मूल्यमा भए पनि आफूले उत्पादन गरेको अलैँची बिक्री गर्नुपर्ने बाध्यता रहने र पछि मूल्य वृद्धि भएमा व्यापारीलाई नै फाइदा हुने उहाँले बताउनुभयो । गतवर्ष यो समयमा अलैँचीको मूल्य प्रतिमन २४ देखि २६ हजार रुपियाँसम्म रहेको थियो ।